सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

फागुन७, काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानमा सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ ।

तत्कालीन स्थानीय विकास अधिकारीसहित १८ जनाविरुद्ध अख्तियार आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको हो । सल्यानको बागचौर नगरपालिका ५ बांगेलाकुरी बजारमा विद्युत लाइन विस्तारका लागि सांसद कोषबाट प्राप्त १० लाख रुपैयाँ हिनामिना भएको अख्तियारको ठहर छ ।  अख्तियारले १० कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी र एक सामान सप्लायर्सलाई मुद्धाको विपक्षी बनाएको छ ।

अख्तियारले तत्कालिन स्थानीय विकास अधिकारी खिमबहादुर रायमाझी, प्रमख जिल्ला इन्जिनियर जगदिश शर्मा, लेखा अधिकृत प्रकाश केसी, बागचौर नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत निर्मला मल्ल, लेखा अधिकृत तोरणप्रसाद घिमिरेलगायतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेका हो ।

त्यसैगरी ग्रामीण विद्युतीकरण शिवरथ उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर भण्डारी, सचिव वीरेन्द्रप्रसाद वली, कोषाध्यक्ष त्रिपुरा वली, विद्युत लाइन विस्तार उपभोक्ता समितिका अध्यक्ष थलबहादुर बस्नेत, सचिव शिवप्रसाद पुन र कोषाध्यक्ष पार्वती पुनलाई पनि अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसँग ५ लाख १४ हजार १ सय ३५ रुपैयाँ विगो माग गरिएको छ ।

अख्तियारले शारदा ट्रेडर्स एण्ड सप्लायर्सका प्रोपाइटर विनोद केसीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । उनीसँग ४६ हजार ९ सय ९६ रुपैयाँ विगो जरिमाना माग गरिएको छ ।