फागुन ७, काठमाडौं – आज ६९ औ प्रजातन्त्र दिबस । २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्य भै मुलुकमा प्रजातन्त्र स्थापना भएको दिन । यस दिनलाई हरेक बर्ष प्रजातन्त्र दिवसको रुपमा मनाइने गरिएको छ । आज प्रजातन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी दिवस मनाइदैछ ।
एक सय चार वर्षे जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी राणा शासकलाई जनतासमक्ष घुँडा टेकाउन बाध्य पारेका थिए । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्र स्थापना भएको थियो ।
प्रजातन्त्रकै लागि भनेर शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले १९९७ साल माघमा बलिदानी दिएका थिए । उनीहरुले भूमिगत रुपमा प्रजा परिषद् नामक राजनीतिक दल मार्फत प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएका थिए । यही अभियोगमा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो ।
फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रुपमा यो दिवस मनाउँदै आएको छ । दिवसका उपलक्ष्यमा सार्वजनिक बिदा समेत दिने गरिएको छ ।
यसै विच प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका छन् । एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले विकास र समृद्धिको नेपाली चाहना पूरा हुने विन्दुमा पुगेको बताए ।
मुलुक समृद्धिको बाटोमा अगाडी बढिसकेकाले नेपालीको दशकौं देखिको विकास र समृद्धिको सपना पूरा हुने विन्दुमा पुगेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
शुभकामना सन्देशमार्फ उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणमा अघि बढिसकेकोले यसमा विश्वस्त हुन पनि आग्रह गरेका छन् ।