अख्तियार आयुक्त पाठकलाई कारवाही गर्न महान्यायाधिवक्ता कार्यालयको सुझाव

फागुन ७, काठमाडौं –महान्यायाधिवक्ता कार्यालयले घुस काण्डपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई कारवाहीका लागि मुद्धा चलाउन सुझाव दिएको छ ।

महान्यायाधिवक्ता कार्यालयले संविधानमा सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेको ठहरिएमा मुद्दा चलाउन सक्ने व्यवस्था भएकाले सोही प्रक्रियाअनुसार कारवाही गर्न सुझाव दिएको हो ।

अख्तियारले सोमबार महान्यायाधिवक्ता कार्यालय समक्ष कसरी मुद्दा चलाउने भन्ने बारेमा सल्लाह मागेको थियो ।

पाठकले चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको डेढ अर्ब रुपैयाँको सम्पत्ति हड्प्ने विषयमा देखिएको विवाद मुद्दा मिलाउने बहानामा ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएपछि राजीनामा दिएका थिए ।