फागुन ५, पोखरा -लगातारको हिमपातका कारण अन्नपूर्ण क्षेत्रको पदयात्रा प्रभावित भएको छ । लम्जुङबाट मनाङ हुँदै थोराङला भञ्ज्याङ (५४१६ मिटर) पार गरेर मुस्ताङको मुक्तिनाथ निस्कने फेरोको पदयात्रा लगातारको हिमपातका कारण पूर्णरुपमा प्रभावित भएको हो ।
साहसिक पर्यटकले बढी रुचाउने अन्नपूर्ण फेरोको पदयात्रा हिमपातका कारण झन्डै दुई सातादेखि अवरुद्ध भएपछि पर्यटकलाई पदयात्रामा जान रोक लगाइएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।
बाक्लो हिमपातले पदमार्गमा पूरै हिउँ जमेको र हिउँ पर्ने क्रम निरन्तर रहेकाले हिँडडुलमा निकै नै कठिन भएको एक्यापको भनाई छ ।
अहिले माथिल्लो मनाङसम्म पुगेका पदयात्री त्यो भन्दा अगाडी बढ्न सकेका छैनन् । र तिलिचोताल र अन्नपूर्ण फेरो जाने पदमार्ग पूर्णरुपमा अवरुद्ध छ । मुस्किलैले मनाङको चामेसम्म पर्यटक पुग्ने गरेका छन् ।