कलंकी–सातदोबाटो–कोटेश्वर सडकखण्डको कमजोरी एक विज्ञ समूहले अध्ययन गर्ने

फागुन ३, काठमाडौं — हालै निर्माण गरिएको कलंकी–सातदोबाटो–कोटेश्वर सडकखण्ड देखिएका कमजोरी अध्ययन गर्ने जिम्मा एक विज्ञ समूहले पाएको छ ।
सडक विभागले प्रारम्भिक अध्ययनबाट कलंकी–सातदोबाटो–कोटेश्वर सडकखण्ड पैदलयात्रु र चालकमैत्री नदेखिएपछि विज्ञ समूह नै खटाएर अध्ययन गर्ने निश्कर्ष निकालेको हो ।

यही आइतबार सम्झौता गरी विज्ञ समूहलाई अध्ययनको जिम्मा दिइने विभागका सडक तथा ट्राफिक इकाई प्रमुख दीप बाराहीले जानकारी गराए । विज्ञ समूहले विभागलाई एक महिनाभित्र अध्ययन प्रतिवेदन बुझाउने छ ।

प्रारम्भिक अध्ययनले कोटश्वर, ग्वार्की, सातदोबोटो, एकान्तकुना, बल्खु र कलंकीमा मात्र जेब्रा क्रसिङ भएको पैदलयात्रुका लागि फुटपाथ नभएको र साइकल लेन पनि नभएको निष्कर्ष छ ।

त्यसैगरी करिब ३ किलोमिटर दुरीमा काटेश्वर, ग्वार्को र बागडोलमा मात्रै आकाशे पुल निर्माण गरिएको छ । मुख्य चोकहरुमै आकाशे पुल नहुँदा बाटो काट्न गाह्रो भएकाले सडक विभागले अन्य ६ स्थानमा पनि आकाशे पुल निर्माण गर्ने जनाएको छ ।

चिनियाँ कम्पनीको डिजाइनलाई जस्ताको तस्तै स्वीकार्दा नेपालको सडक संरचना, आवश्यक्ता, स्थानीय परिवेश, नेपाली चालक र पैदल यात्रुहरुको प्रवृत्ति अनुकुल सडक नबनेको विज्ञहरु बताउँछन् ।

चक्रपथ सुधार आयोजना अन्तर्गतको १०.३९ किलोमिटरको कलंकी–सातदोबाटो–कोटेश्वर खण्ड ५ वर्ष लगाएर चिनियाँ कम्पनीको डिजाइन अनुसार निर्माण कार्य सम्पन्न गरी गत माघ १३ गते चीनले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।