फागुन १, काठमाडौं – २०५२ साल फागुन १ गते नेपालमा जनयुद्ध सुरु भएको थियो । १० वर्षे जनयुद्धमा झण्डै १७ हजारले ज्यान गुमाए ।
१० बर्षे जनयुद्ध, शान्तिपूर्ण आन्दोलन र वार्तापछि नेपालमा शान्ति स्थापना र लोकतत्त्र स्थापित भयो । हजारौंले ज्यान लिएको जनयुद्ध, दोस्रो जनआन्दोलनका कारण मुलुकमा संघीय लोकतन्त्र र गणतन्त्त्र स्थापना भयो ।
अहिले मुलुकमा शान्ति स्थापना भएको पनि १० वर्ष भईसकेको छ । यही विचमा हरके वर्ष फागुन १ गते नेकपा माओवादीले जनयुद्ध दिवस मनाउदै आएको थियो ।
तर यसपालीको ‘जनयुद्ध’ दिवस भने नेकपा एमाले र नेकपा माओवादी एक भएका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो पटक एकसाथ मनाउँदै छ ।
२०५२ फागुन १ गतेबाट जनयुद्ध सुरु गर्ने मूल धार र त्यो युद्धको कट्टर आलोचक तत्कालीन नेकपा एमाले मिलेर बनेको नेकपाले पहिलोपटक औपचारिक रुपमै जनयुद्ध दिवस मनाउन लागेको हो । तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबीच गत जेठ ३ गते एकता भएको थियो ।
तत्कालीन नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा जनयुद्ध दिवस मनाउन लागिएको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ । जनयुद्ध दिवसका दिन जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली’ अर्पण गर्ने कार्यक्रम राखिएको छ ।
१० बजेका लागि तय गरिएको कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुँदैछन् भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने बताइएको छ । आजै प्रधानमन्त्री रोजागर कार्यक्रमको घोषणा गरिने भएकाले प्रधानमन्त्री ओली पार्टी कार्यालय उपस्थित हुन नसक्ने जानकारी आएको छ ।
केन्द्र संगसँगै प्रदेश, जिल्ला तथा जनवर्गीय संगठनहरुले पनि जनयुद्धको सम्झना गर्दैछन् । महासचिव विष्णु पौडेलले केही दिनअघि जनयुद्ध दिवस मनाउन सर्कुलर गरेपछि नेकपाका सबै संरचनाहरुले जनयुद्ध दिवस मनाउन लागेका हुन् ।
यद्यपि, तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धलाई हेर्ने दृष्टिकोण राजनीतिक शक्तिबीच फरक–फरक रहेको छ ।