फागुन १, काठमाडौं – सरकारले नेपालबाट जारी भएका सवारी चालक अनुमतीपत्र (मोटर ड्राइभिङ लाइसेन्स)ले विदेशमा पनि तीन महिनासम्म सवारी चलाउन पाउने व्यवस्थाको तयारी गरेको छ ।
यातायात व्यवस्था विभागले संघीय यातायात ऐन मार्फत् नेपाली लाइसेन्सले अन्तरास्ट्रिय मान्यता पाउने व्यवस्था गर्न लागेको हो ।
यो लाइसेन्सबाट बढिमा तीन महिनासम्म विदेशमा सवारी साधन चलाउन पाउने व्यवस्था गर्न लागिएको छ । मस्यौदाको रुपमा रहेको नयाँ विधयेकमा अन्तर्रा्ष्ट्रिय सवारी चालक अनुमती सम्बन्धि व्यवस्था (इन्टरनेशलन ड्राइभिङ पर्मिट) समावेश गर्न लागिएको हो ।
सरकारले ऐन मार्फत यस्तो सुविधाको व्यवस्था गरेको खण्डमा विदेशमा काम गर्न र पढ्न जानेहरुलाई सहज हुनेछ ।
अहिले नेपालीहरुले विदेशमा सवारी साधन चलाउन सम्बन्धित देशमा पुगेपछि आवश्यक प्रक्रिया पुरा गरेर सोहि देशको अनुमतीपत्र लिनुपर्ने व्यवस्था छ । १ सय ६५ वटा देशले यस्तो व्यवस्था कार्यान्वयन गरिसकेका छन् ।
नेपालले पनि विदेशी पर्यटक वा अन्य कामदारलाई यातायात व्यवस्था विभाग अन्तर्गतको सवारी चालक अनुमतीपत्र कार्यालयले सम्बन्धित देशबाट लिएका लाइसेन्सलाई नेपालीकरण गरेर सवारी साधन चलाउँन दिदै आएको छ ।