जनयुद्ध दिवसका दिन प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरिने

माघ २९ काठमाडौं —फागुन १ गते सरकारले ‘जनयुद्ध दिवस’को दिन पारेर प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्ने भएको छ । यो कार्यक्रमले बेरोजगार व्यक्तिले आर्थिक वर्षमा सय दिन बराबरको बेरोजगारी भत्ता पाउछन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमपछिको सरकारको यो अर्को जनप्रिय कार्यक्रम हो । चालु आर्थिक वर्षमा योे कार्यक्रम घोषणा भएको थियो ।

सरकारले आफ्ना र अर्काका कार्यकर्ता भनेर नछुटाएको खण्डमा मात्रै यो कार्यक्रम राम्रो र प्रभावकारी हुने योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षत्रीको भनाई छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्दे्शिका–०७५मा बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा न्यूनतम १ सय दिन बराबरको रोजगारी दिने व्यवस्था गरेको छ । निर्देशिकामा रोजगार सूचना, परामर्श र सहजीकरण, व्यावसायिक तथा सीप विकास तालिम दिइने उल्लेख छ ।

बेरोजगार परिवारलाई रोजगारी प्राप्त नभएको अवस्थामा रोजगारी नपाएको दिनको न्यूनतम पारिश्रमिकको ५० प्रतिशतका दरले हुने रकम निर्वाह भत्ताको रुपमा उपलब्ध गराइने पनि जनाइएको छ । सो रकम बैंक खातामा भुक्तानी हुनेछ ।

यसका लागि ‘स्थानीय तहले बेरोजगार व्यक्तिको पहिचान गरी रोजगार सेवा केन्द्रमा सोको आवधिक लगत राख्ने व्यवस्था मिलाउनु पर्नेछ।’

यस बर्ष काठमाडौंमा जनयुद्ध दिवसको खासै महत्वपूर्ण कार्यक्रम नभएपनि माओवादीले २०५१ साल फागुन १ गतेदेखी ‘जनयुद्ध’ सुरु गरेकाले हरेक वर्ष यसको वार्षिकी मनाउँदै आएको थियो ।

तर ०७५ साल जेठ ३ गते माओवादी र एमाले एक भएपछि यो दिवस एक साथ मनाईदै छ । यही जनयुद्ध दिवसको दिन पारेर प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गरिने भएको हो ।