माघ २९, काठमाडौं – कारवाहीस्वरुप उच्च अदालत विराटनगरका दुईजना न्यायाधीशलाई पनि काजमा ल्याइएको छ ।
न्यायपालिकामाथी वढ्दै गरेको विकृति तथा दुरुपयोगको अन्त्य गर्ने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायधीषलाई काजमा ल्याएको हो ।
काजमा ल्याएका उच्च अदालतका दुईजना न्यायधीषहरुमा साधुराम सापकोटा र जनक पाण्डे रहेका छन् । उच्च अदालतबाट कारबाहीस्वरुप न्याय परिषद् तानिएका न्यायधीषहरुमा अहिलेसम्म ८ जना भएका छन् । साढे ३३ किलो सुन प्रकरणसम्बन्धी मुद्दाको न्याय सम्पादन गलत भएको भन्दै न्यायाधीश काजमा तानिएका हुन् ।
सुन तस्करी मुद्दामा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल पहिले नै तानिएका छन् । त्यसैगरी यसअघि विराटनगर उच्च अदालतका न्यायाधीशहरू नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थिरबहादुर कार्की, उमेशकुमार सिंह, उमेशराज पौडेललाई न्यायपरिषद्मा तानिएका थिए । काजमा बोलाइएका न्यायाधीशहरु न्याय परिषद्मा हाजिर गरेर फर्कन्छन्।
यता काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँ पनि गत आईतबार न्याय परिषद्मा काजमा तानिएका छन् । न्यायाधीश बानियाँको न्याय सम्पादन शंकास्पद देखिएको भन्दै प्रधानन्यायाधीश जबराले काजमा तानेका हुन् ।
त्यसैगरी ललितपुर जिल्ला अदालतका विश्वमोहन आत्रेय र तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायलाई यसअघि नै काजमा तानिएको छ।