धनगढी प्रिमियर लिग क्रिकेट विजेताले ३० लाख पुरस्कार पाउने, वेष्ट प्लेयरलाई गोल्ड स्टार सुनको जुत्ता

माघ२४, काठमाडौं — धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताका विजेताको लागि रु ३० लाखको व्यवस्था गरिएको छ ।

यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताका विजेताको लागि ३० लाख रुपैयाको धनराशीको व्यवस्था गरिएको हो । त्यसैगरी उक्त खेलमा उपविजेताले १२ लाख, तेस्रो हुनेले रु चार लाख तथा चौथो हुने टोलीले रु दुई लाख पाउनेछन् ।

आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले तुलनामा अहिलेको धनराशिमा २० प्रतिशत बढाइएको बताए । उनले प्रतियोगिताको कूल पुरस्कार राशि ६० लाख रहेको पनि बताए ।

अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट मान्यता पाएको प्रतियोगिता डिपिएल–३ मा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किङ्ग्स सहभागि हुदैछन् ।

प्रतियोगिताको ‘गुडविल एम्बास्डर’मा दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्स रहेका छन् । प्रतियोगिताको गोल्डस्टार मोष्ट मुल्यवान खेलाडीले गोल्डस्टार सुनको जुत्ता पाउने छन् ।

प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई रु १५ हजार, म्यान अफ द सिरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको छ ।

रु पाँच करोड लागत खर्च मा प्रतियोगिता सम्पन्न हुने आयोजकले अनुमान गरेको छ । माघ २६ गते शनिबार दिउँसो १ बजे पहिलो खेल सुरू हुदैछ ।