अधिकांश उपसचिव संघमा नै समायोजन

 

माघ, २४ काठमाडौ —प्रशासन सेवाका  उपसचिवहरु संघमा समायोजन भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सार्वजनिक गरेको नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्र द्धितिय श्रेणी, उपसचिवहरुको समायोजन गरिएको विवरणमा अधिकांश उपसचिवहरुले संघ रोजेका हुन् ।

८ सय ४३ उपसचिवहरु मध्ये ८ उपसचिवले मात्र प्रदेश रोजेका छन् । उनीहरुमध्ये २ उपसचिवले प्रदेश नं. १, ३ उपसचिवले गण्डकी प्रदेश, २ उपसचिवले प्रदेश नं. ५ र १ उपसचिवले कर्णाली प्रदेश रोजेका छन् ।

त्यस्तै ४ उपसचिवले स्थानीय तह रोजेका छन् । उनीहरु मध्ये २ जनाले काठमाडौं महानगरपालिका, १ जनाले ललितपुर महानगरपालिका र १ जनाले नेपालगञ्ज उपमहानगरपालिका रोजेका छन् ।

प्रशासन सेवाका ९८.५५ प्रतिशत उपसचिव संघमा समायोजन भएका हुन् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ २० गतेदेखि उपसचिवहरुको समायोजन सुरु गरेको थियो । यसअघि सचिव र सहसचिवहरुको समायोजन गरिएको थियो ।

अब बाँकी रहेकालाई पनि समायोजन गरिनेछ । अब प्रशासन बाहेक लेखा, राजस्व, शिक्षा लगायतका समूहका उपसचिवहरुको समायोजन प्रक्रिया टुंग्याउन बाँकी छ ।