पोखरा विश्वविद्यालयका स्ववियुको काम कारवाही नरोक्न उच्च अदालतको आदेश

माघ १७, पोखरा — उच्च अदालत पोखराले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को काम कारवाही नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।

पोखरा विश्वविद्यालयका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीको काम कारबाही नरोक्न उच्च अदालतले जारी गरेको अन्तरिम आदेशले निरन्तरता पाएको हो ।

न्यायाधीशद्वय जीवनहरि अधिकारी र सुभाष पौडेलको इजलासले माघ ४ गतेको अन्तरिम आदेशलाई निरन्तरता दिएको रजिस्टार जीतेन्द्रबाबु थपलियाले बताए ।

स्ववियुको सभापतिसहित ३ जनाले माघ ३ गते दायर गरेका थिए । रिटमा अदालतले ४ गते अन्तरिम आदेश जारी गरेको थियो ।
स्ववियु सभापति सुनील तिमिल्सिना, सचिव सुरज परियार र सदस्य प्रकृति दवाडीले दायर गरेको रिटमा अधिवक्ता कमल अर्याल र अधिवक्ता मदनप्रसाद तिवारीले पक्ष विपक्षीवीच बहस गरेका थिए ।

वहसको टुंगो नलागेपनि उच्च अदालतले जारी गरेको अन्तरिम आदेशले निरन्तरता पाएपछि स्ववियु पदाधिकारीको काम कारवाही नरोकिने भएको हो । यो आदेशले पदावधि सकिएका स्ववियु पदाधिकारीले निरन्तर काम गर्न पाउने भएका छन् ।