अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा

१६ माघ, काठमाडौं । चितवनको भरतपुरमा अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको  घोषणा गरिएको छ । धुर्मुस सुन्तली फाउन्डेसनले २० विगाह ८ कठ्ठा क्षेत्रफलमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिने घोषणा गरेको हो ।

रंगशाला निर्माणका लागि फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्तिसम्वन्धी सम्झौता भईसकेको छ । कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको, त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गा क्रिकेट रंगशाला बनाउने भएपछि भरतपुर महानगरले फाउन्डेसनलाई उपलब्ध गराएको हो ।

गुरुयोजना तयार भएको २ वर्ष्भित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बताए । करिब ३० हजार दर्शक क्षमताको रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ ।

रंगशालाको थ्रीडी डिजाइन पनि तयार भईसकेको छ । अब ६ महिनामा यसको गुरुयोजना तयार हुनेछ । त्यसपछि रंगशालाको शिलान्यास गरि निर्माण कार्य सुरु हुनेछ ।