नक्कली व्लूू बुक देखाएर करिब ३ करोड ठगी गर्ने गिरोह प्रहरीको फन्दामा

माघ१४, काठमाडौ— नक्कली व्लू बुक देखाएर करिब ३ करोड ठगी गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ । गाडीको नक्कली ब्लुबुक धितो राखी देव विकास बैंकबाट ११ जना ऋणीहरुमार्फत ऋण निकाल्न संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमा मुख्य योजनाकार काभ्रेको भुम्लु गाउँपालिका १ का नारायणबहादुर श्रेष्ठसहित, भुम्लुकै बालकृष्ण श्रेष्ठ, चेतबहादुर श्रेष्ठ, विकास श्रेष्ठ, नवीन श्रेष्ठ, कृष्णबहादुर खत्री, नरेशमान सिंह अमात्य र देव विकास बैंकका तत्कालिन शाखा प्रबन्धक सरिन शंकर श्रेष्ठ रहेका छन् ।

त्यसमध्ये बालकृष्ण श्रेष्ठ भुम्लु गाउँपालिका वडा नं १ का वडा सदस्य समेत रहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले मंसिर २५ गतेदेखि उनीहरुलाई मोरङ, काभ्रे र काठमाडौं जिल्लाबाट पक्राउ गरेको थियो ।

उनीहरुले बैंकमा सवारी साधन धितो राखी ऋण लिने क्रममा प्रतिलिपी व्लु बकमा नक्कली डाटा तयार गरी विवरणहरु पेश गरेको सीआईबीका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए  उनीहरुले १६ वटा कर्जा फाईल तयार गरी २ करोड ७१ लाख ७६ हजार रुपैयाँ ऋण निकालेका छन् ।

मुख्य योजनाकार नारायण श्रेष्ठ गाडी खरिदविक्री प्रक्रियामा संलग्न भई यातयात कार्यालयमा सजिलै प्रबेश पाउने हैसियत बनाएको देखिएको सीआईबीले जनाएको छ ।
सीआईबीले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ तथा मुलुकी ऐनको सरकारी छाप दस्तखत कीर्ते कागजको महल बमोजिमको कसुरमा उनीहरुलाई अनुसन्धान गरी सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गरेको छ ।