सवारी चालक लाईसेन्सको समयअविधी १० वर्षको बनाईने

माघ १३, काठमाडौं —सवारी चालक अनुमति पत्र लाईसेन्सको समयअवधी १० वर्षको बनाउने तयारी गरिएको छ ।

यातायात व्यवस्था विभागले ५ वर्षको मात्रै बनाइएको लाइसेन्सका कारण नागरिकले दुःख पाएको भन्दै संघीय यातायात ऐनको मस्यौदामा १० वर्षको प्रस्ताव गरिएको हो ।

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले विदेशमा लामो समय बसिरहेका नेपालीको लाइसेन्सको म्याद सकिने भएकाले यसलाई मध्यनज गर्दै लाइसेन्सको समय अवधि बढाउने तयारी गरेको बताए ।

ऐन पारित भएपछि बन्ने लाइसेन्सको अवधि १० वर्षको भए पनि जारी भइसकेका लाइसेन्स भने नविकरण गरेपछि १० वर्षको हुने उनले बताए । जारी भइसकेको स्मार्ट लाइसेन्सको हकमा पनि ५ वर्ष पछि नविकरण गर्दा १० वर्षे अवधिको हुनेछ ।