कम उमेरमै अर्धसतक प्रहार गर्दै क्रिकेटमा रेकर्ड राखेका रोहितलाई प्रधानमन्त्रीको बधाई

माघ १३, काठमाडौं — सबैभन्दा कम उमेरमा अर्धसतक प्रहार गर्दै रेकर्ड राख्ने रोहितकुमार पौडेलले प्रधानमन्त्री केपी ओलीबाट बधाई पाएका छन् । सामाजिक सञ्जाल ट्विटर मार्फत प्रधानमन्त्रीले रोहितलाई बधाई दिएका हुन् ।

उनले ट्विटर मार्फत कम उमेरका खेलाडी रोहितलई हार्दिक बधाई दिदै अन्तर्रा्ष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको यस सफलताले मुलुकलाई खुशी बनाएको बताए ।

राष्ट्रिय खेल क्रिकेटको डेब्यु गरेको एक वर्ष नबित्दै नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेल विश्व क्रिकेट जगतमा पुरुषतर्फ अर्धशतक पूरा गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् ।

रोहितले शनिबार दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा भएको युएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा अर्धशतक पूरा गर्दै भारतका ब्याट्सम्यान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीलाई पछि पारेका हुन् । रोहितले १६ वर्ष एक सय ४६ दिनको उमेरमा यो कीर्तिमान राखेका हुन् ।

यसअघि यो कीर्तिमान टेस्टतर्फ तेन्दुल्करको र एकदिवसीयतर्फ अफ्रिदीको नाममा थियो । तेन्दुल्करले १६ वर्ष दुई सय १३ दिनमा पाकिस्तानविरुद्धको टेस्टमा ५९ रन ल्याएर कीर्तिमान बनाएका थिए । अफ्रिदीले सन् १९९६ अक्टोबर ४ मा १६ वर्ष दुई सय १७ दिनमा श्रीलंकाविरुद्धको डेब्युमै कीर्तिमान राखेका थिए ।