बागलुङ काँठेखोलाका किसानले वर्षको ३ करोड कमाए

माघ १२ बागलुङ —बागलुङ काँठेखोलाका किसानले वर्षमा तीन करोड मूल्य बराबरका कृषि उपज बिक्री गरेका छन् ।

दूध, सुन्तला, तरकारी र अन्नलगायत कृषि उपज बिक्री गरेर बागलुङको काँठेखोला गाउँपालिका –६ बिहुँका किसानले वर्षको तीन करोड नौ लाख ५१ हजार ५०० बराबर आम्दानी गर्न सफल भएकमा हुन् ।

दूध तथा फलफूलजन्य उत्पादनका हिसाबले काँठेखोला बिहुँ अत्यन्तै महत्वपुर्ण क्षेत्र मानिन्छ । यस वर्ष मात्रै यहाँका कृषकले रु एक करोड ३५ लाख नौ हजार २०० मूल्य बराबरको दूध बेचेका छन् ।

त्यस्तै बिहुँमा सुन्तला र कागतीको बिक्रीबाट रु एक करोड ५० लाख ३० हजार २५०, केरा खेतीबाट रु आठ लाख ९५ हजार २००, अम्बा बेचेर रु ७५ हजार ३५०, कुखुरा पालनबाट रु पाँच लाख २० हजार १५० तथा अन्य अन्न बालीबाट रु तीन लाख ९० हजार कमाई गरेको वडा नं ६ को कार्यालयले जनाएको छ।

ब्राह्मण र दलित समुदायको मुख्य बाहुल्य रहेको यस वडावासीको मुख्य आम्दानी नै कृषि पेशा रहेको छ । समुद्री सतहदेखि एक हजार २५ मिटरदेखि एक हजार ७९० मिटर उचाइमा खेतीयोग्य जमीन रहेको छ । त्यसैगरी दुई हजार १०० मिटर उचाइसम्म वन क्षेत्र फैलिएको छ ।
कृषि पेशाकै माध्यमबाट यस वडालाई समुन्नत बनाउने वडा अध्यक्ष युक्तप्रसाद कँडेलले बताए ।

वडा कार्यालयले व्यवासायिक रुपमा सुन्तला, कागती, अम्बा, केरा, अलैँची, कफी र अम्रिसो लगाउन भूगोलले थ दिएकोले रुपमा उपयुक्त भएकाले यहाँका कृषकलाई सिफारिस गरेको छ ।  वडा कार्यालयमा सूचीकृत भएका ४७६ कृषकमध्ये २६८ सीमान्तकृत, १८१ निर्वाहमुखी, १९ साना कृषक, चार व्यवसायतर्फ उन्नमुख कृषक र चार सौखिन कृषक रहेका छन् ।