फ्रान्सले वेचेको एयरबस, काठमाडौंमा बस्न र उड्न सक्ने, युरोपमा किन उड्न नपाउने ? प्रधानमन्त्री ओली

माघ११, स्वीटजरल्याण्ड — प्रधानमन्त्री केपी ओलीले युरोपमा नेपालका जहाज उडाउन नपाएकोमा कडा आपत्ति जनाएका छन् ।

भारतको भन्दा नेपालको हवाई सेवा राम्रो भएको दावी गर्दै प्रधानमन्त्री ओलीले युरोपका आकाशमा भारतका जहाज उडिरहँदा नेपाली जहाज उड्न नपाएकोमा गुनासो गरेका हुन् ।

विहीबार साँझ स्वीटजरल्याण्डको जुरिचमा नेपाली समुदायसँगको जमघटमा प्रधानमन्त्री ओलीले हवाइ कनेक्टीभिटीको समस्याबारे कुरा गर्दै युरोपमा अहिलेसम्म नेपाली जहाजहरु उड्न नपाएकोका दुःख व्यक्त गरे ।

आइकाओको प्रतिवेदनले भारतको जहाजको अवस्था तुलनात्मक रुपमा नेपालको भन्दा कमजोर भएको वताउदै गर्दा नेपालले फ्रान्सबाटै खरिद गरेको दुईवटा एयरबस फ्रान्सकै आकाशमा किन उडाउन नपाउने प्रधानमन्त्री ओलीले प्रश्न गरेका छन् ।

काठमाडौंमा बस्न र उड्न सक्ने फ्रान्सले वेचेको एयरबस, युरोपको आकाशमा उड्न किन नपाउने ? फ्रान्सको एयरपोर्टमा किन वस्न नपाउने ? हाम्रो एयरपोर्ट खत्तम हो कि ? हाम्रो स्काई खत्तम हो ? कि फ्रान्सको स्काई ‘? प्रश्नमाथी प्रश्न गर्दै प्रधानमन्त्री ओलीले यो कुरा बुझ्न गाह्रो भएको बताए ।

प्रधानमन्त्री ओलीले नेपाली जहाजहरुमाथि युरोपमा लागिरहेको प्रतिबन्धमाथी खुल्ला छलफल गर्न कसैसँग कुनै हिच्किचावट नभएको उल्लेख गर्दै यस सम्वन्धमा छिट्टै निकास दिने बताए ।

साथै प्रधानमन्त्री ओलीले आगामी नयाँ वर्ष २०७६ साल वशाख १ गतेदेखि काठमाडौं विमानस्थललाई दुनियाँकै पहिलो बुटिक एयरपोर्ट बनाउने जानकारी दिए ।