शिल तोडेर तेल चोरी विक्रि गर्ने पेट्रोल पम्प शिलबन्दीमा

माघ ८, काठमाडौं —तेल चोरेर विक्री वितरण गर्ने दुईवटा पेट्रोल पम्प शिलबन्दी भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागलेशिल तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने दुई पेट्रोल पम्पलाई शिलबन्दी गरेको हो ।

शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्ने चुच्चेपाटी आयल स्टोर्स र मैतीदेवी आयल स्टोर्सलाई विभागले शिलबन्दी गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले शिल तोडेर नक्कली शिल लगाई बिक्री–वितरण गरेको भन्दै पम्पमा शिलबन्दी गरेको बताए ।

शिल तोडी उपभोक्तालाई कम तेल दिएर ठगी गरेको भन्दै दुबै पेट्रोल पम्पका सञ्चालक एकै जना भएको विभागले जनाएको छ ।

विभागले स्ट्याण्डर्ड नाप र तौल ऐन, २०२५ तथा नियमावली २०२७ अनुसार उक्त दुबै पम्पमा शिलबन्दी तथा कारोबार रोक्का गरी थप कानूनी प्रक्रिया अगाडि बढाइएको महानिर्देशक पुडासैनीले बताए ।