पोखराका स्ववियु पदाधिकारी अनसनमा

माघ ८, पोखरा—स्ववियु विवादमा विश्वविद्यालयले ध्यान नदिएको र क्याम्पसमा लगाइएको ताला नखोलिएको भन्दै स्ववियुका सभापति र सचिवले आमरण अनसन सुरु गरेका छन् ।

पोखरा विश्वविद्यालयका स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीविच विवाद चुलिदै गएपछि सभापति सुनील तिमिल्सिना र सचिव सुरज परियारले सोमबार साँझदेखि केन्द्रीय कार्यालयमा आमरण अनशन थालेका हुन् ।

स्ववियु पदाधिकारी पदावधि सम्बन्धी विवादका कारण पुस २३ गतेदेखि पोखरा विश्वविद्यालयमा ताला लगाइएको छ । स्ववियु पदाधिकारीको पदावधि थप्न लागिएको भन्दै विश्वविद्यालयका भिसी, रजिस्टार, ४ वटै डिनका कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा ताला लगाइएको हो ।

विश्वविद्यालयको स्ववियु तथा विद्यार्थी आचारसंहिता नियमावली नियम आफैंमा बाझिएको भन्दै स्ववियु पदाधिकारीलाई निर्वाध काम गर्न दिन अन्तरिम आदेश माग गर्दै विद्यार्थी नेताहरुले अदालतमा रिट निवेदन हालेका थिए ।

रिटमा उच्च अदालत पोखराले शुक्रबार अन्तरिम आदेश पनि जारी गरेको छ ।