मेलम्ची खानेपानी आयोजनाको सीएमसीसँगको ठेक्का रद्द गरिने

माघ७, काठमाडौं —मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द हुने भएको छ । सरकारले १४ दिनभित्र इटालियन ठेकेदार कम्पनी सीएमसी काममा नफर्किए ठेक्का रद्द गर्ने घोषणा गरेको हो ।

दुई हप्तासम्म पनि सीएमसीले सरकारलाई चित्तबुझ्दो जवाफ दिई काम सुरु नगरे गरिएको ठेक्का सम्झौता रद्द गर्ने गरी (लेटर अफ टर्मिनेसन ) जारी गर्दै सरकारले ठेक्का तोडेको घोषणा गरेको आयोजनाका उपप्रमुख रामप्रसाद कँडेलले जानकारी दिए ।

सरकारले अन्तिम समयसम्म सीएमसीलाई वार्तामा फर्किन आग्रह गरेको थियो, सीएमसी काममा नफर्किए सीएमसीको धरौटी रकम अढाई अर्ब रुपैया पनि जफत हुनेछ ।

ठेक्का रद्द भएपछि नयाँ प्रक्रियामार्फत ठेक्का गरी सरकारले बाँकी काम सम्पन्न गर्नुपर्नेछ । त्यसपछि करिब ६ महिनाभित्र काम सम्पन्न हुन सक्छ ।