श्री स्वस्थानी व्रत कथा प्रारम्भ : शाली नदिमा मेला सुरु

माघ७, काठमाडौं —आजदेखि श्री स्वस्थानी व्रत सुरु भएको छ ।  यो श्री स्वस्थानी व्रत पौष शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमाकै दिन १ महिना पछि विधिपूर्वक सम्पन्न गरिन्छ ।

माघ महिनाभरी एक महिनासम्म् हरेक दिन स्नान गरी स्वस्थानी व्रत बस्ने गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरेर शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ ।

बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा एक महिनासम्म हरेक दिन साँझ सुन्ने र सुनाउने चलन छ । यसो गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी हो । महनिाभरी यस तरीकाबाट व्रत बसी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता गरी विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ ।

चढाइएका प्रसादमध्ये सबैबाट आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई तथा मीत छोरा पनि नभएमा मनोकामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा बगाउने भनी स्वस्थानी कथामा उल्लेख छ । त्यस दिन सय रोटी व्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बस्ने जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने पनि गरिन्छ ।

यस अवसरमा आजैदेखि एक महिनासम्म काठमाडौंको उत्तर पूर्व १८ किमिको दुरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नान सहित माधवनारायणको मेला पनि लाग्छ । माघ महिनामा शालीनदीमा स्नान गरी माधवनारायणको दर्शन गरेमा पुण्य मिल्ने विश्वास छ ।