सरकारले रोजगार कार्यक्रम ल्याउदै, आर्थिक वर्षमा ३ अर्ब वजेट विनियोजन गरिने

 

माघ ४ हेटौडा – सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश नं ३ बाट शुरु गर्ने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश नं ३ बाट शुरु गर्ने तयारी गरेको हो ।

सरकारले चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तीन अर्ब १० करोड रुपैयाँ छुट्याएको छ । चालू आवको नीति तथा कार्यक्रममा समावेश गरिएको उत्त कार्यक्रम यही आर्थिक वर्षदेखि शुरु गरिने मन्त्रालयले जनाएको हो ।

यसका लागि सरकारले रोजगारीको हकसम्बन्धी ऐन पनि निर्माण गरिसकेको छ । कुनै पनि बाध्यात्मक स्थितिमा वाहेक रोजगारीका लागि नेपाली विदेश जानु नपर्ने गरी तयारी गरिएको सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले बताए ।

रोजगार कार्यक्रम शुरु भएपछि देशका ७५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र खोलिने छ । ति केन्द्रहरुमा एक जना कर्मचारी करारमा भर्ना गरिने गरी प्रत्रिया अघि बढेको सचिव दाहालले जानकारी दिए । केन्द्रले बेरोजगारको तथ्याङ्क सङ्कलन गर्ने, बेरोजगारलाई सीप र तालीम दिएर रोजगार बनाउने अवसर प्रदान गर्नेछ ।

मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ दुलालले विगतमा पनि यस्ता कार्यक्रम आएको तर व्यवहारमा सफल नभएको बताउँदै यो कार्यक्रमलाई सबैको सहयोगको खाँचो जरुरी रहेको जोड बताए । मन्त्रालयले प्रदेश र स्थानीय तहका प्रतिनिधिसँग समेत छलफल गरेको छ ।