माघ १ गते ‘माघे संक्रान्ति’ : घिउ, तिल चाकु, तरुल एवं खिचडी खाने दिन

माघ १, काठमाडौं -आज नेपालीहरुको पर्व चाड देशभरी माघे संक्रान्ति मनाइँदैछ ।  माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिएको हो ।

माघे संक्रान्ति पर्वलाई पनि विशेष महत्व दिएर मान्ने चलन छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मान्छन् भने नुवाकोटको तारुकामा जुधाएर रमाइलो गर्ने अनौठो चलन छ ।

माघे संक्रान्तिका दिन नदी एवं खोला र त्रिवेणीमा नुवाउने, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने चलन हो । सेल राटी खाने, पुस मसान्तका दिन तरुललाई उसिनेर माघ १ गते खाने परम्परा पनि छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी परिकारको खानपानले त्रिदोष मेटिने धार्मिक विश्वास छ ।

आजको दिन शरीरमा तिलको तेलले मालिस गर्दा, शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ । आजैबाट उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, पाल्पाको रिडी लगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड तथा मेला लाग्छ ।

सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ । उत्तरायण शुरु भएपछि शुभ काम, यज्ञ यागादि गर्न शुभ मानिएको छ । उत्तरायण शुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यता पनि छ ।

सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेको पौराणिक मान्यता छ । आजका दिन भक्तपुरको तिलमाधव नारायण स्थान लगायतका ठाउँमा पनि मेला लाग्दछ ।