प्रदेश २ का कर्मचारीको कामकाज ठप्प : मुख्य मन्त्रीलाई ज्ञापन पत्र

पुष ३०, लहान – प्रदेश २ सरकारी कर्मचारीहरुले कामकाज ठप्प पारेका छन् । वन, पर्यटन, वातावरण तथा उद्योग मन्त्रालयका सचिव बिद्यानाथ झामाथि भएको हातपात घटनाको बिरोध गर्दै सोमबार हातमा कालो पट्टी बाँधेर कामकाज ठप्प पारेका हुन् ।

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले वन, पर्यटन, वातावरण तथा उद्योग मन्त्रालयका सचिव बिद्यानाथ झामाथी गरेको हातपातको घटनालाई छानबिन गरि कारबाहीको माग गर्दै कर्मचारीहरुले मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र मार्फत माग सुनवाईका लागि कर्मचारीहरुहरुले २४ घण्टे अल्टिमेटम दिएका छन् । कर्मचारीहरुले सचिव झामाथि भएको हातपातको घटनाको छानबिन पछि कारबाही नभएसम्म आन्दोलन नरोकिने बताए ।

आफूले सिफारिस गरेको एनजिओको नाम ‘सर्ट्लिस्ट’ नगरिदिएको रिसमा मन्त्री यादवले आइतबार आफ्नै कार्यकक्षमा बोलाई थप्पड हानको बताइएको छ । तर मन्त्री यादवले आफूले सचिव झालाई नहानेको दाबी गरेका छन् । मन्त्री यादवले हात हालाहल नभई ‘भनाभन’ मात्र भएको दाबी गरेका छन् ।

यता, सचिव झा भने आइतबार रातीदेखि जनकपुरको केयर मेडिकल अस्पतालमा उपचारका लागि भर्ना भएको शाखा अधिकृत महतोले जानकारी दिए । उता प्रदेश २ को सरकारले आइतबार आकस्मिक बैठक राखी घटना छानबिनका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा समिति गठन गरिसकेको छ ।