प्रदेश ३ सरकारको प्रस्ताव : एकीकृत बस्तीदेखि विश्वविद्यालय निर्माण गर्ने

पुस३०, हेटौंडा – प्रदेश ३ सरकारले विभिन्न कार्यविधीको मस्यौदा स्वीकृत सहित १६ वटा निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो ।

त्यसैगरी प्रदेश ३ सरकारले एकीकृत बस्ती निर्माणका लागि जग्गा उपलब्ध गराउन संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

प्रदेश राजधानी हेटौंडामा आईतबार बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेस गरेको एकीकृत बस्तीका लागि जग्गा उपलब्ध गराउन संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सामाजिक विकास मन्त्रालयले पेस गरेको प्रदेश विश्वविद्यालय स्थापना र सञ्चालन सम्बन्धमा अध्ययन कार्यदल गठन गर्ने, आर्थिक मामिला तथा योजना मन्त्रालयले पेस गरेको प्रदेश आर्थिक ऐन २०७५ संशोधन र प्राकृतिक स्रोत शुल्कको विषयलाई पनि पारित गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले बताए ।

यसैविच स्विस सरकारले प्रदेशमा पुल निर्माणका लागि प्रदेश ३ को सरकारलाई सहयोग गर्ने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र स्विस सरकारको स्थानीय पुल सडक कार्यक्रम(एलआरबिपी)बिच आइतबार सम्झौता भएको हो ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितीमा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशलकिशोर झा र एलआरबीपीका टोली नेता बेह्नम दलीलीबीच सम्झौतापत्र आदान प्रदान गरिएको थियो । स्विस सरकारले नेपाल सरकारलाई विभिन्न सहयोग गर्ने सम्झौता बमोजिम स्विस सरकारले प्रदेशलाई पनि सहयोग गर्न लागेको हो ।