महामन्त्री सहित सात जना पदाधिकारीले एकैचोटी राजिनामा दिदा नेविसंघ संकटमा

पुस२७, काठमाडौं – नेपाल विद्यार्थी संघ(नेविसंघ)का सात जना पदाधिकारीले एकैचोटी राजीनामा दिएका छन् । तोकिएको समयमा अधिवेशन गर्न नसकिएको र यही अवस्थाले नेविसंघ नचल्ने भन्दै उनीहरुले संयुक्तरुपमा राजीनामा दिएका हुन् ।

७ जना पदाधिकारीले एकपटक राजीनामा दिएपछि नेविसंघका अध्यक्ष नैनसिंह महरलाई अप्ठ्यारो परेको छ ।

राजीनामा दिनेहरुमा उपाध्यक्षहरु सञ्जीवकुमार यादव, पुष्प शाही र विकास केसी, महामन्त्री सरोज थापा, र सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशी रहेका छन् ।

उनीहरुले शुक्रबार बिहान देउवा निवास बुढानिलकण्ठ पुगी पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् । उनीहरु सबै देउवा निकट भएको वुझिएको छ ।

नेविसंघले भदौमा महाधिवेशन गर्ने भनिएको भएपनि आन्तरिक विवादका कारण महाधिवेशन हुन गर्न नसकेपछि पार्टीले तीन महिना समय थप गरेको थियो ।

थप समयमा पनि महाधिवेशन नभएपछि फेरी दुई महिनाको समय थपिएको थियो । पुनश्च थपिएको २ महिनाको अन्तिम समयको म्याद माघ २ गते रहेकोछ ।

नेविसंघ अध्यक्ष नैनसिंह महरले पुस २८ गते शनिबार महाधिवेशन उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थिए ।

पुस २८ गते पनि महाधिवेशन गर्न नसक्ने भएपछि नेविसंघको अहिलेको कार्यसमिति अप्ठारोमा परेको छ ।