वन मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पुस, २५ काठमाडौ — काठमाडौं वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठ विरुद्ध तत्कालिन अवस्थामा यातायात व्यवस्था विभागको महानिर्देशक पदको दुरुपयोग गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्धा दर्ता गरेको हो ।

तत्कालिन अवस्थामा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा अथाहा सम्पत्ति कमाई गरेको भेटिएपछि अख्तियारले श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको हो । उनले २०३८ साल माघ २८ गतेदेखि सेवा सुरु गरेका थिए ।

यस अवधिमा उनले कमाई गरेको २ करोड १० लाख ७७ हजार ४ रुपैयाँ थियो भने विविध शिर्षकमा ३ करोड ४४ लाख ७७ हजार ५ सय ८० रुपैयाँ खर्च गरेको देखिएको थियो ।

वैध आयको तुलनामा १ करोड ३४ लाख ५ सय ७६ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएकोले उनलाई मुद्दा चलाएको अख्तियारले बताएको छ ।