८३ लाख ५७ हजार रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न ४ जना पक्राउ

पुष २३, जनकपुर- जनकपुर उपमहानगरपालिकाको किशोरीनगरबाट ८३ लाख ५७ हजार रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न ४ जना पक्राउ परेका छन् ।

२ नं. प्रदेश प्रहरी कार्यालय, जनकपुर र जिल्ला प्रहरी कार्यालय, धनुषाबाट गएको संयुक्त टोलीले हुन्डी कारोबारमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक मधुवनी, बासोपट्टी बस्ने ४० वर्षीय सन्तोष महतो, ४० वर्षीय नरेश महतो, जनकपुर–१९ का विजय यादव र जनकपुर–२ का ३८ वर्षीय मोख्तार अहमत रहेको प्रदेश नं.२का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरिबहादुर पाल बताए ।

पक्राउ पर्नेहरुबाट विभिन्न बैंकका ३० वटा चेक, भौचर, हिसाब खाता र ६ वटा मोबाइल फोनहरु पनि बरामद गरिएको छ ।

हुण्डी कारोबारमा संलग्न अझै एक जना रामेश्वर शाह फरार भएका छन् । उनी भारतीय नागरिक भएको प्रहरीले बताएको छ । उनकै योजनामा हुन्डी कारोबार भईरहेको पक्राउ परेकाहरुको बयान छ ।