प्रदेश ५ को सचिवालयले सवारी खरिदमा आर्थिक हिनामिना गरेको आशंका

पुष २२, बुटवल – प्रदेश ५ को सचिवालयले सवारी साधन खरिद गर्दा आर्थिक हिनामिना भएको खबर बाहिर आएको छ । नेकपाका कार्यकर्ताहरुले गाडी खरिद गर्दा आर्थिक रुपमा ठूलै हिनामिना भएको दाबी गरेपछि यस्तो खवर सार्वजनिक भएको हो ।

गाडी खरिदपछि ठूलै आर्थिक चलखेल भएको भन्दै नेकपाभित्र आलोचनासमेत सुरू भएको छ।

प्रदेश ५को सचिवालयले केही दिन अगाडि टाटा कम्पनीका १३ र अन्य तीन वटा सवारी साधन खरिद गरेको थियो । प्रदेश सचिवालयले बुटवलको सफल अटो इन्टरनेशनलबाट ती गाडी खरिद गरेको थियो ।

प्रदेश ५ को सचिवालयले गएको भदौ २६ गते विभिन्न प्रकारका १४ वटा सवारी साधन खरिद गर्ने विषयमा सार्वजनिक बोलपत्र आह्वान गरेको थियो । सचिवालयको प्रकाशित सूचनामा ४ ह्विल ड्राइभ भएको सवारी साधनको उल्लेख गरिए पनि गाडीको स्तर खुलाइएको थिएन ।

प्रदेशसभा सचिवालयले ७ करोड ९१ लाख ४४ हजार ९ सय ९९ रूपैयाँमा गाडी ११ गाडी खरिद गरेको छ । एउटा गाडीको मुल्य ७१ लाख ९४ हजार ९ सय ९९ रहेको छ ।

सचिवालयले खरिद गरेको एउटा गाडीको मूल्य सर्वसाधारणले खरिद गर्नेभन्दा ३ लाख ३९ हजार ९ सय ९९ बढी देखाइएको छ । खरिद गरिएका एउटा गाडीको बीमा रकम ५५ हजार रुपैयाँ छुट्टै उपलब्ध गराउने भनी देखाइएको छ, जबकी सर्बसाधारणले खरिद गर्ने गाडीको बीमा सुविधा स्वयं कम्पनीले उपलब्ध गराउने व्यवस्था छ ।

व्यक्तिले एउटा गाडी खरिद गर्दा सामान्यतया ५ लाख रुपैयाँ सम्म छुट दिने गर्दछ । तर सरकारी बजेटबाट ११ वटा सवारी साधन खरिद गर्दा छुटको विषय किन ख्याल गरिएन भन्ने सवाल उठेको छ ।