पुष २२, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गर्छु भनी दिएका वचनलाई हल्का लिदै खिसीटिउरी गरिएको उल्लेख गरेका छन् ।
प्रतिनिधिसभालाई सम्बोधन गर्दै आज प्रधानमन्त्री ओलीले सरकारले दश महिनामा गरेका कामहरुको विवरण दिने क्रममा यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले पानी जहाज ल्याउने कुरा गर्दा कागजका डुंगा बनाइए फ्याँकेको र अहिले रेल ल्याउने कुरा गर्दा टिकट काट्ने ठाउँ खोइ भनेर खिसिटिउरी गरेको बताए । उनले आफ्ना बोलीलाई हल्का रुपमा लिइएको भएपनि टिकट खोज्न आँट गरेको भन्दै धन्यबाद दिएका छन् ।
सम्बोधनका क्रममा ओलीले भने, ’मैले सम्झिरहेको छु, कुनै वेला पाानीजहाजको कुरा गर्दा कागजका डुङ्गा बनाएर फ्याँकियो । अहिले रेलको कुरा गरिरहँदा खाली बाल्टिन् लाइनमा राखी कुरा काटिएको छ ।
मैले अहिले सुनेको छु– जहाजको टिकट काटौं भनेको, काउण्टर कहाँ छ भनेर सोधे ? हिजोका दिनमा विश्वास नगर्नेहरु आज लाईनमा आएको मलाई महसुस भएको छ, उनले भने’ धैर्य गर्दा हुन्छ – ‘अब रेल पनि आउँछ, पानी जहाज पनि चल्छ । रेल्वे स्टेशन, टिकट काउण्टर सबै खुल्छ, ढुक्क भए हुन्छ।’