विशिष्ट सेवाका लागि सेनाले महंगा चारवटा हेलिकप्टर खरिद गर्ने

पुस २२, काठमाडौं —नेपाली सेनाका लागि महंगा चारवटा हेलिकप्टर आउने भएको छ । सन २०२२ सम्म सेनाले चारवटा हेलिकोप्टर खरिद गर्ने दीर्घकालीन हवाई योजना मुताविक खरिद गर्न लागेको हो ।

महँगा चारवटा हेलिकप्टर भिभिआइपी (विशिष्ट) सेवाका लागि खरिद गरिने भएको हो । चारवटा मध्ये एउटा अगस्टा वेस्टल्यान्ड काठमाडौं भित्रिसकेको छ । एउटाको मुल्य डेढ अर्बभन्दा बढी रकम पर्दछ ।  बाँकी तीन वटा हेलिकप्टरमध्ये एउटा अगस्टा र दुइटा बेल रहेको सेनाले जनाएको छ ।

ती महंगा हेलिकोप्टर विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख तथा विशिष्टहरू अतिथिहरुका लागि एवं नेपालका राष्ट्रपति, प्रधानमन्त्री र विशिष्टहरूको उडानका लागि प्रयोग गरिनेछन् ।

साथै ती हेलिकप्टर प्राकृतिक विपत्तिका बेला पनि प्रयोग गर्न सकिने सेनाले जनाएको छ । हाल सेनासँग दुइटा फिक्स विङ र १२ वटा हेलिकोप्टरसहित १४ वटा एयर क्राफ्ट छन् । एयरक्राफ्टको संख्या ३१ पुर्याउने सेनाको लक्ष्य छ ।