जापानको श्रम समझदारी मस्यौदा नेपाल आईपुग्यो

 

पुष १८, काठमाडौं  — अव जापामा नेपाली कामदारले ढुक्कले काम गर्ने पाउने भएका छन् । जापानले नेपाली कामदार भित्राउने विषयमा नीतिगत घोषणा गरेपछि यस्तो वातावरण वन्दै गएको हो । जापान सरकारले नेपाली कामदार लैजाने विषयमा भर्खरै नेपाललाई श्रम समझदारीको मस्यौदा पठाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले, जापान सरकारले नेपाललाई जनशत्ति उपलब्ध गराउने स्रोतका रुपमा लिएको जानकारी सहित श्रम समझदारीको अवधाराणा पत्र पठाएको जनाएको छ । कस्ता कामदार, कसरी लैजाने भन्ने भन्ने विषयमा पठाइएको श्रम समझदारी अवधारणापत्रमाथी सरकारले अध्ययन थालेको छ ।

मस्यौदाको अन्तिमीकरण गर्न जापानी श्रम अधिकारीको प्राविधिक टोली जनवरीको अन्त्यसम्म नेपाल आउदैछ । सरकारले पनि कानुनी रुपमा नेपाली कामदार जापान पठाउने वातावरण निर्माण गर्ने बताएको छ । नेपाली कामदार जापान भित्राउने नीतिगत घोषणा अन्तर्गत नेपालीका लागि ११ वटा भाषा सहायता केन्द्र पनि तय गर्ने भएको छ । कामदारको खाँचो भएपछि जापान सरकारले विदेशी कामदार भित्राउने नीति लिएको हो । नेपाललगायत चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट कामदार भित्राउने जापान सरकारको योजना छ ।

सम्भवत आउदो अप्रिलदेखि सुरु हुने जापानी भाषा परीक्षा पास गर्नेहरु रोजगारीका लागि जापान जान पाउनेछन् । कामदार भर्ना लगायतका विषयमा छलफल गर्न जापानका परराष्ट्रमन्त्री यही पुस २५ गते नेपाल आउने भएका छन् ।