ठोरीका स्थानीयबासीले ठुटे खोलाकोे पुल तर्न पाएनन्

पुष १४, चितवन– ठोरी गाउँपालिकाको ठुटेखोलामा बनेको पुल एक वर्ष भईसक्दा पनि प्रयोगमा आउन सकेको छैन । भारतीय अवरोध र दबाबका कारण पर्साको ठोरीस्थित ठुटेखोलामा बनेको पुल स्थानीयबासीले प्रयोग गर्न नपाएका हुन् ।

पुलको पूर्वपट्टी बाटोमा पर्ने दुई नहर भारतीयले पुर्न नदिएका कारण पुल र बाटो नजोडिएकाले पुल प्रयोग हुन नपाएको हो ।

यस विषयमा भारतीय र नेपालीबीच वेला वेलामा झडप हुदै आएको स्थानीयवासीले बताएका छन् । ठोरी खोलाको माथिल्लो वाँधबाट नेपालले र तल्लो दुई बाँधबाट भारतले पानी लगिरहेको छ । यही वाँधका विषयमा पनि भारतीय र नेपालीवासीविच झडप हुदै आइरहेको छ ।

ठुटेखोला पुल भएर ठोरी गाउँपालिका वडा नंं ३को सुवर्णपुर हुँदै वीरगञ्जसम्म पुग्न सकिन्छ । ठोरी भन्सारबाट दैनिक करीब १०० गाडी आउनेजाने गर्छन् ।

ठुटेखोलाको पुलबाट करीब ३० मिटरको दुरीमा नेपाल–भारत सीमा पिल्लर भएपनि भारतले पुलभन्दा भित्रबाट बाँध बनाएर वर्षौदेखि पानी लगिरहेको छ । यही पानीले भारतको भिखनाठोरी, डुम्मरवाना, जमुनिया, भवानीपुरलगायतका क्षेत्र सिँचाइ हुदै आएको छ ।

ठुटेखोला पुल हुलाकी मार्गमा पर्ने भएकाले पानीको कुलोमा ह्यमपाइप राख्न नसकिएकपछि पुल सञ्चालनमा हुन नसकेको हो । यसको समाधानका लागि विकल्पको खोजी गरिरहेको ठोरी गाउँपालिकाले जनाएको छ ।

यस गाउँपालिकाको वडा नं २ र ३ लाई जोड्ने सो पुल १०२ मिटर लामो रहेको छ ।