विश्व हिन्दु युवा संघका तत्कालीन अध्यक्षको हत्यामा संलग्न कुशवालाई सर्वाेच्चको सफाई

पुष १४, काठमाडौं—सर्वोच्चले विश्व हिन्दु युवा संघका तत्कालीन अध्यक्ष काशीप्रसाद तिवारीको हत्यामा जेल सजाए भोगिरहेका सियारामप्रसाद कुशवाहलाई सफाई दिएको छ ।

न्यायाधीशहरू शारदाप्रसाद घिमिरे र डम्मरबहादुर शाहीको संयुक्त इजलासले उच्च अदालतको फैसला नमिलेको भन्दै कर्तव्य ज्यान सजाय भोगिरहेका सियारामलाई सफाइको फैसला गर्दै थुनामुक्त गर्ने आदेश दिएको हो ।

उच्च अदालत जनकपुरले गत वर्ष फागुन २५ गतेको सर्वस्वसहितको जन्मकैद फैसला नमिलेको भन्दै उल्ट्याइएको हो ।सर्वोच्चको शुक्रबारको फैसलामा ‘कुशवाहलाई अभियोग दाबीबाट सफाइ दिने ठहर गर्दै थुनामुक्त गर्ने आदेश दिएको छ ।

सियाराम कुशवाह कटहरिया नगरपालिकारौतहटका तत्कालीन नेकपा माओवादी केन्द्रका विजयी मेयर हुन् । मेयर भएलगत्तै अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनएपछि उनलाई पक्राउ गरिएको थियो । २०६८ सालमा वीरगन्जमा भएको विश्व हिन्दू युवा महासंघ अध्यक्ष तिवारीको हत्यामा संलग्न भएको भन्दै सियाराम, अमनप्रसाद कुसवाह र बलिराम साहविरुद्ध मुद्दा चलाइएको थियो ।

जिल्ला अदालत पर्साले सियारामलाई सुरुमा सफाइ दिदै अमन र बलिरामलाई तिवारीको हत्यामा संलग्न ठहर गरेको थियो । पक्राउ परेकाहरुले जिल्ला अदालत पर्सामा दिइएको वयान अनुसार प्रभु साहले गोली हान्न लगाएका थिए ।

तत्कालिन कानुनमन्त्री प्रभु शाहविद्ध राजनीतिक दवावका कारण सरकारी वकिललाई मुद्दा दर्ता नगर्न दबाब दिईएको थियो । सोही अनुसार उनीविरुद्ध मुद्दा नचलाएको पाईएको छ । जतिखेर बाबुराम भट्टराई प्रधानमन्त्री र मुक्ति प्रधान महान्यायाधीवक्ता थिए । फलस्वरुप महान्यायाधिवक्ताको कार्यालयले साहविरुद्ध सरकारी वकिलले मुद्दा चलाएको थिएन ।

त्यसपछि सियारामलाई छुट दिएको भन्दै उच्च अदालत जनकपुरको पुनरावेदनमा उजुरी परेको थियो । हत्यामा संलग्न उनलाई उच्च अदालतले सियारामलाई मुलुकी ऐनको १३ (१) बमोजिम जन्मकैदको ठहर गरेको थियो ।

उच्च अदालतले अमनले चलाईरहेको मोटरसाईकलमा बसेर सियारामले गोली हानेको ठहरसहित फैसला गरेको थियो । जन्मकैदको ठहरपछि सियाराम पुनरावेदन लिएर सर्वोच्च पुगेका थिए ।

२०७५ सालको जेठ १० गते सियारामले पुनरावेदन दर्ता गराएका थिए । सर्वोच्चले मुद्दा दर्ता गरेको सात महिनाभित्रै उनलाई कर्तव्य ज्यान मुद्दामा सफाइ दिएको हो ।