विधेयक अधिवेशन आजबाट सुरु

पुष, ११ काठमाडौं —संविधानसँग बाझिएका कानुन संशोधनको मुख्य एजेन्डासहित संघीय संसद्को तेस्रो अधिवेशन आज बाट सुरु हुँदैछ । संविधानसँग बाझिएका १ सय ७४ कानुन संशोधन र परिमार्जन गर्न तथा केही नयाँ कानुन बनाउन ६९ दिन मात्र बाँकी छ ।

सरकारले विद्यमान ३ सय ३९ कानुनमध्ये संविधानसँग बाझिएका १ सय ७४ संशोधन गर्नुपर्ने जनाएको छ । कानुनमन्त्री भानुभक्त ढकालले संशोधन गर्नुपर्ने मध्ये ३६ कानुन नयाँ नै बनाउनुपर्ने बताए। संविधानसँग बाझिएका कानुन फागुन २१ भित्र संशोधन नभए संविधानतः खारेज हुने छन ्।