बालिका निर्मला पन्तको वलात्कारपछिको हत्या घटनामा प्रहरी अनुसन्धान फेरी असफल

८ पुस, काठमाडौं — कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनामा प्रहरीले गरेको अनुसन्धान फेरि असफल भएको छ ।

पछिल्लोपटक प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले डिएनए टेष्ट म्याच नभएपछि उनीहरु असफल देखिएका हुन् ।

डिएनए नमिलेपछि प्रहरीले विशाल चौधरीलाई छाडेको छ । यद्यपि, डिएनए रिपोर्ट सार्वजनिक नगरेको प्रहरीले रिपोर्ट कञ्चनपपुर पुगिसकेको जनाएको छ । उता कञ्चनपुर प्रहरीले भने डिएनए रिपोर्ट प्राप्त नभएको बताएको छ ।

यता विशाल चौधरीसंगै समातिएका प्रदीप रावललाई भने अझै महानगरीय प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको छ । विशाललाई छाडिएको विषयमा दुवैको रिपोर्ट कञ्चनपुर आईनपुुगेको र उतैबाट भेरिफाई गरेर विशाललाई छाडेको हुनसक्ने प्रहरी प्रवक्ता कृष्णराज ओझाले बताए ।

विशाल र प्रदीपले निर्मलाको हत्या आफूहरू मिलेर गरेको बयान प्रहरीलाई दिएका थिए । कञ्चनपुरकै भीमदत्त नगरपालिका–१८ सालघारीका १६ वर्षीय विशालले बुबाकै अगाडिसमेत अपराध स्विकार गरेका थिए । तर विशालले प्रहरीको यातना सहननसकेर अपराध स्वीकारेको बताएका छन् ।

विशाललाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले साधारण तारेखमा छाड्न आदेश दिएको थियो । विशालसँगै पक्राउ परेका दिनेश मंसिर १८ गते काठमाडौंबाट समातिएका थिए ।