कांग्रेस महासमिति बैठकको चलपहल सुरु : शुुक्रबार नाम दर्ता, शनिबार उद्घाटन

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेस महासमितिको शनिबार ११ बजे उदघाटन हुने बैठकको  भव्य तयारी गरिएको छ ।
पुस ३ गतेसम्म चल्ने महासमिति बैठकको उदघाटन सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

महासमित बैठकमा देशभरबाट आउनेका लागि स्वागत तथा नाम दर्ता कार्यक्रम शुक्रबार सानेपास्थित पार्टी कार्यालय राखिएको छ । महासमिति बैठकका लागि १ हजार ६ सय ६० सहभागि हुदैछन् ।

महासमिति बैठकको मुख्य एजेण्डा पार्टीको विधान संशोधन हुनेछ ।

उदघाटनसत्रपछि बन्दसत्रमा विधान मस्यौदा समिति संयोजक पूर्णबहादुर खड्काले विधान संशोधनको प्रस्ताव प्रस्तुत पेश गर्नेछन् ।

यसैगरी बैठकमा क्रमश महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक दस्तावेज, उपसभापति विमलेन्द्र नीधिले राजनीतिक दस्तावेज, सहमहामन्त्री डा. प्रकाशसरण महतले कांग्रेसको आर्थिक नीति र कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

प्रस्तुत प्रतिवेदनमाथी महासमिति सदस्यहरुले समूहगत छलफल गरिसकेपछि निष्कर्ष पुर्याउनेछन् । तर चित्त नबुझेको खण्डमा महासमितिलाई अस्वीकार गर्ने अधिकार पनि रहेको छ ।