सुन तस्करी प्रकरण: विमल पोद्दार र राजेन्द्रकुमार शाक्य १०– १० लाख धरौटीमा रिहा

मोरङ २८ मंसिर । साढे ३३ किलो सुन तस्करी प्रकरणमा  परेका विमल पोद्दार र राजेन्द्रकुमार शाक्यलाई विराटनगर उच्च अदालतले १०– १० लाख  धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

व्यवसायी विमल पोद्दार र आर के भनिने राजेन्द्रकुमार शाक्य साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी काण्डमा परेका थिए ।

न्यायाधीश नागेन्द्रलाभ कर्ण र थिरबहादुर कार्कीको इजलासले पोद्दार र शाक्यलाई १०– १० लाख धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालत विराटनगरका रजिस्टार नारायण रेग्मीले बताए । विमल पोद्दार भारतीय नागरिक हुन् । उनलाई  हुण्डीमार्फत सुन तस्करी प्रकरणमा सहयोग गरेको पक्राउपछि खुलेपछि मुद्दा दायर गरिएको थियो ।

उनी गत असार ६ गते पक्राउ परेका थिए । जिल्लाको आदेशपछि थुनामा रहेका पोद्दारले गत असोज १६ गते आदेश बदर गर्ने मागसहित उच्च अदालतमा पुनरावेदन गरेका थिए । छ पटक पेसी सरेको पोद्दारको मुद्दामा बिहीबार आदेश गरिएको हो ।

अदालतको आदेशपछि गत जेठ ८ गते कारागारमा रहेका आरके भनिएका शाक्यले गत साउन १ गते उच्च अदालतमा निवेदन दायर गरेका थिए । शाक्यको हकमा २६ पटक पेशी सरेपछि २७ औ पटकमा धरौटीमा छाड्ने आदेश आएको हो ।