तेल वोक्ने ट्यांकरहरुको हडताल : घुमाउरो पारामा तेल चोर्ने माग

काठमाडौं २४ मंसिर । तेल वोक्ने ट्यांकरहरूले घुमाउरो पारामा तेल चोर्ने माग गर्दै हडताल गरिरहेका छन् ।

नेपाल आयल निगमले विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्रण गर्न लकिङ प्रविधि जडान गरेपछि तेल बोक्ने ट्यांकरहरुले हडताल गरेका हुन् ।

एक दिनमै करोडौं मूल्यको तेल ‘चोर्न’ पाउनुपर्ने उनीहरूको माग छ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले प्रत्येक ट्यांकरका पाँचवटै च्याम्बरमा तीन सेन्टिमिटरसम्म तेल मिलाउन पाउनुपर्ने माग राखेको हो । तीन सेन्टिमिटरमा ९० लिटर तेल अट्छ। देशभरिका एक हजार आठ सय ट्यांकरले तीन सेन्टिमिटर ‘तेल मिलाउँदा’ प्रतिदिन डिजेल र पेट्रोलमा चार करोडभन्दा बढी मूल्यको तेल हिनामिना हुन्छ ।

निगम स्रोतका अनुसार ट्यांकरमा लकिङ प्रविधि तेल चोरी गर्न मिल्दैन । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले गत शुक्रबार थानकोट डिपोमा १० सूत्रीय माग राखेर ४० वटा ट्यांकरले तेल झारेनन् ।
निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले सम्पूर्ण ट्यांकरमा तीन सेन्टिमिटरसम्म तेल मिलाउन पाउनुपर्ने माग इन्धनमा ठूलो चलखेल गर्न खोजिएको बताएका छन् ।

उनले भने चालकहरूलाई दैनिक करोडौं मूल्यबराबरको इन्धनको घोटाला गर्न दिन मिल्दैन ।’ उनका अनुसार लकिङ प्रणालीले इन्धनको चोरी र चुहावट ९८ प्रतिशतसम्म नियन्त्रण हुन्छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले आफ्ना ट्यांकरमा पनि चुहावट नियन्त्रणका लागि यही प्रविधि जडान गरेको छ । ‘सकेसम्म १०० प्रतिसत चुहावट रोक्न आईओसीको सहयोगमा यो प्रविधि जडान गरेका थियौं,’ थानकोट डिपो प्रमुख भरत रेग्मीले भने, ‘यति गर्दागर्दै पनि केही साताअघि विराटनगरको २० हजार लिटरको एउटा ट्यांकरबाट चालकले लकिङ प्रणाली बिगारेर दुई हजार पाँच सय लिटर डिजेल चोरी गरेको पाईयो । 

यही अनुपातमा डिजेल मात्रै एक दिनमै एक करोड ३३ लाख ६५ हजार रूपैयाँ पेट्रोलमा एक करोड ३९ लाख १० हजार चार सय रूपैयाँ बराबरको रकम घोटाला हुन्छ ।

यता संघका अध्यक्ष किशोर लामाले भने ‘देशभरिकै ट्यांकरको पाँचवटै च्याम्बरमा बराबरी परिमाणमा तेल हुनुपर्ने हाम्रो माग गरेको हो नकी ‘तेल चोरी गर्ने नियतले ।’ संघले यसबाहेक ट्यांकरबाट इन्धन अनलोड गर्दा घट्ने परिमाणको जवाफदेही चालक नहुने व्यवस्था गर्न माग गरेको हो । लोड हुँदा बढी देखिने तर नेपालमा आएपछि अनलोड गर्दा कम भएको अवस्थामा त्यसको जवाफदेही चालक नहुने विषयको माग गरेको संघले दाबी गरेको छ ।