पाँचपटकसम्म गल्ती गर्ने ट्याक्सी चालकको लाइसेन्स ६ महिना निलम्बन गर्ने

काठमाडौं २० मंसिर ।  पाँच पटकसम्म गल्ति गर्ने ट्याक्सी चालकको लाईसेन्स अब ६महिनासम्म निलम्वन गरिने भएको छ ।

ट्याक्सी चालकको लापरवाही र मनमानी तथा यात्रुसँग मनलाग्दी भाडा उठाउने, मिटर नचलाउनेजस्ता कार्यलाई रोक्न सरकारले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री कार्यालयमा आजै बसेको बैठकले ट्याक्सी चालकले पाँचपटकसम्म गल्ती गरे छ महिना सम्म कुनै पनि सवारी चलाउन नपाउने निर्णय गरेको महानगरीय ट्राफिक महाशाखाका प्रमुख वसन्त पन्तले जानकारी दिनुभयो ।

यातायात व्यवस्था विभागलाई पत्र काटेर ट्राफिक महाशाखालाई पठाएपछि यो निर्णय लागू हुनेछ । लाइसेन्स निलम्बन सम्बन्धि व्यवस्था कार्यान्वयन गर्न शुक्रबार ट्राफिक कार्यालयलाई पत्र पठाउने यातायात विभागका महानिर्देशक लावण्य ढकालले जानकारी गराउनुभयो ।

महानिर्देशक ढकालले यसका लागि नयाँ कानुन मस्यौदा तयार गरिरहेको समेत बताउनुुभयो ।

अहिले विश्वका विभिन्न मुलुकमा ट्याक्सी चालकको मनोमानी तथा बेथिति रोक्न उच्च जरिवाना र लाइसेन्स निलम्बनको व्यवस्था कार्यन्वयनमा छ ।