राष्ट्रिय जनता पार्टीले सरकारलाई गरेको समर्थन फिर्ता लिने : नेता लक्ष्मणलाल कर्ण

काठमाडौं, १९ मंसिर  । राष्ट्रिय जनता पार्टी, नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले सरकारलाई गरेको समर्थन फिर्ता लिने बताउनुभएको छ ।
गत मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता कर्णले यस्तो बताउनुभएको हो ।

उहाँले संविधान संशोधन र आन्दोलनका बेला आफ्ना नेता तथा कार्यकर्तालाई लागेको मुद्दा फिर्ता गराउन सरकारलाई समर्थन गरेको बताउदै अहिलेसम्म त्यो विषयमा छलफल नभएकाले सरकारलाई समर्थन गर्न जरुरी नरहेको प्रष्ट पार्नुभयो ।

उहाँले वर्तमान सरकार असफल भैसकेको दाबी गर्दैै सरकारले मुलुकमा शान्ति, सुरक्षा र अमनचयन समेत कायम गर्न नसकेको आरोप लगाउनुभयो ।
उहाँले निर्मला पन्तको बलात्कारपछिको हत्या भएको चार महिना भईसक्दा पनि दोषीलाई कारवायी गरी प्रभावितलाई न्याय दिन नसक्नु सरकारको कमजोरी हो भन्नुभयो ।

साथै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली क्रिश्चियन धर्म प्रचार प्रसारमा योगदान पुर्याएको प्रति आपत्ति जनाउनुुभयो ।