प्रस्तुत कांग्रेसको प्रस्तावित विधान मस्यौदामाथी,नेताहरुको फरक मत

मंसीर ९ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले, संशोधनका लागि प्रस्तावित विधानको मस्यौदा आज प्रस्तुत भएको छ ।

विधान संशोधन मस्यौदा समितिका संयोजक समेत रहनुभएका पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रिय कार्य समितिको आजको बैठकमा समितिले तयार पारेको मस्यौदा प्रस्तुत गर्नुभएको हो । १४ सदस्यीय विधान संशोधन मस्यौदा समितिले तीन महिना लगाएर संघीय विधान मस्यौदा तयार गरेको थियो ।

समितिले तयार पारेको मस्यौदामाथी आजको वैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, मिनेन्द्र रिजाल, रमेश लेखक, फरमूल्लाह मन्सुर, प्रदीप पौडेल, नवीन्द्रराज जोशीलगायतले फरक मत राखेका थिए । फरक मत राख्नेहरू पनि विधान संशोधन समितिका सदस्यहरु हुन् ।

वैठकमा उठेको फरक मत सहित मस्यौदा अध्ययनका लागि सबै केन्द्रीय सदस्यलाई वितरण पनि गरिईसकेको छ । मस्यौदा अध्ययन गरिसकेपछि फरक धारणा देखिएमा, यही मंसिर १३ गते अघि नै केन्द्रीय कार्यसमितिको बैठकमा राख्न समयसीमा पनि तोकिएको छ ।

प्रस्तावित विधान मस्यौदामा कांग्रेसको एक मात्र सदस्यता हुनुपर्ने व्यवस्था छ । अहिले कांग्रेसमा साधारण र क्रियाशील गरी दुई प्रकारका सदस्यता छन् ।
सक्रिय सदस्यताले कांग्रेसमा लामो समयदेखि विवाद ल्याएको भन्दै नेपाली कांग्रेसको सदस्य एउटा प्रकृतिको मात्र राख्न सुझाव दिइएको हो ।
त्यसैगरी अवको केन्द्रीय कार्यसमितिको पदाधिकारी ११ सदस्यीय हुनुपर्ने माग, फरक मत राख्ने नेताहरूको छ । एक जना सभापति, ३ जना उपसभापति, ३ जना महामन्त्री, ३ जना सहमहामन्त्री, र एक जना कोषाध्यक्ष राख्न माग गरिएको हो ।

यस्तै, समानुपातिक समावेशीकरणको आधारमा ७ जना उपसभापति र सात जना सहमहामन्त्री राख्न सकिने विकल्प पनि नेताहरूले दिएका छन् । पदाधिकारीमा एक जना महिला अनिवार्य हुनुपर्ने र कोषाध्यक्षबाहेक अरु पद मतदानबाट चयन गर्न पनि माग गरिएको हो ।

केन्द्रबाट टिकट बाँड्दा नेताका नजिककाले मात्र टिकट पाएको र निर्वाचनमा हार्नुपरेको भन्दै कांग्रेसमा तिब्र आलोचना हुँदै आएको थियो । विधान मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले, फरक मतलाई पनि समावेश गरेर मस्यौदा अध्ययनका लागि केन्द्रीय सदस्यहरूलाई दिइएको छ, भन्नुुभयो । केन्द्रीय सदस्यहरूबाट आ आफ्नै राय, सुझाव र धारणा धेरै आउने भएकाले त्यसैलाई समेटेर प्रतिवेदन बनाई महासमितिको बैठकमा पेश गर्ने कांग्रेसले तयारी गरिरहेको छ, प्रवत्ता लेखकले भन्नुुभयो ।

बिहीबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा यसको विस्तृत छलफल हुनेछ ।