झण्डै ४ वर्षपछि जुरे पहिरो पीडितले राहत पाउदै

२०७१ सालमा गएको सिन्धुपाल्चोकको जुरे पहिरोमा परि घरवारविहिन भएका पहिरो पीडितले वल्ल राहत पाउने भएका छन् ।
पहिरोले घर बगाएको चार वर्षपछि सरकारले पहिरो पिडितलाई भूकम्पपीडित सरह नयाँ घर बनाउन तीन लाखका रूपैयाँ दिन थालेको हो ।

२०७१ साल साउन १७ गते गएको पहिरोमा परी एक सय ४५ जनाको मृत्यु भएको थियो । पहिरोका कारण एक सय २० घर पूर्ण रुपमा र ४७ घरमा आंशिक क्षति भएको थियो ।

सरकारले त्यतिवेला मृतकका परिवारलाई किरिया खर्चका लागि ४० हजार र १ लाख रूपैयाँ राहत दिएको थियो । तर पहिरो पिडित विस्थापित घरपरिवारले भने अहिले सम्म राहत पाएका थिएनन् ।

यस अघि नै जुरे पहिरो पीडितलाई भनी नेपाल बैंक लिमिटेडको सिन्धुपाल्चोक चौतारा शाखामा राहत रकम जम्मा गरिएको थियो ।

४ वर्ष पछि अहिले आएर सरकारले ‘जुरे पहिरोका पीडितलाई भूकम्पपीडितसरह राहत दिने निर्णय गरेको छ ।

कात्तिक २९ गतेको मन्त्रिपरिषद् बैठकले उक्त राहत रकम फूकुवा गरेपछि पीडितलाई रकम वितरण गर्ने बाटो खुलेको हो ।

‘पहिले पनि उहाँहरूले राहत त पाउनुभएको थियो । तर उहाँहरूकै नाममा बैंकमा जम्मा भएको रकम रोक्का थियो। सरकारले फूकुवा गरिदियो।’ सुचना तथा सञ्चार मन्त्रि गोकुल वास्कोटाले भन्नुुभयो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले पहिरोपीडितका नाममा बैंकमा दुई करोड ४१ लाख रुपैया जम्मा भएको जानकारी दिनुुभयो ।

विभिन्न व्यक्तिहरूको सहयोगमा संकलित ‘बैंकमा जम्मा भएको रकम अब कसरी वितरण गर्ने भन्नेबारे विपद् व्यवस्थापन समितिको बैठकमा छलफल गर्दैछौं’ प्रजिअ अधिकारीले भन्नुुभयो, ‘भूकम्पपीडितको नाममा राहत बुझेकालाई पहिरोपीडितको राहत नदिन सरकारको आदेश छ । अधिकांश पहिरोपीडितहरु भूकम्पपीडित बनेर राहत लिईसकेका छन्,उनीहरुको बारेमा पनि बैठकमा छलफल हुनेछ । ’

पहिरो पिडितलाई राहत वितरण गनृुभन्दा पहिले लाभग्राहीको संख्या पनि एकिन गर्नेपर्ने छ ।