श्रमिकका लागि पेन्सन सहित सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्था

काठमाडौं । सरकारले अब श्रमिकलाई पनि योगदानका आधारमा पेन्सन सहितको सामाजिक सुरक्षा दिने भएको छ ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याउने तयारी गरेको हो ।
यही मंसिर ११ गते मंगलबार, सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गरेपछि, सामाजिक सुरक्षा कार्यक्रम लागुु हुनेछ ।

मन्त्रालयले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत औषधी उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना कार्यक्रम सञ्चालन गर्न लागेको हो सामाजिक सुरक्षा कार्यक्रम सुरु भएपछि योगदानमा आधारित पेन्सनको पनि व्यवस्था हुने भएको छ ।

सरकारले निर्माण गरेको सामाजिक सुरक्षा कोषमा रोजगारदाताले ११ प्रतिशत र श्रमिकको २० प्रतिशत रकम जम्मा गर्नुपर्नेछ । मन्त्रालयका सचिव महेश्वर दाहालले सामाजिक सुरक्षा योजना सञ्चालनका लागि आवश्यक पर्ने सबै प्रक्रिया पूरा भएको बताउनुभयो । यस योजनाले रोजगारदाता र श्रमिकबीचको सम्बन्धलाई बलियो वनाउने र उद्योगमा लगानीको वातावरण बन्नेछ, साथै कामदारको सामाजिक सुरक्षा समेत ग्यारेन्टी हुनेछ, उहाँले भन्नुुभयो ।

६ महिना योगदान गर्ने श्रमिकले अर्को ६ महिनासम्म चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना बापतको शुल्क, रोग पहिचान तथा परीक्षण सेवा बापतको खर्च औषधि बिल बमोजिमको खर्च, घरमै बसी उपचार गराउनुपर्ने अवस्थाका बिरामीको, डाक्टर घर आउँदा —जाँदाको खर्चको पनि व्यवस्था गरिएको छ ।

अस्पतालमा भर्ना भई उपचार गराउँदा वर्षमा एक लाख रुपैयाँसम्म, घरमै बसी उपचार गराउँदा वर्षमा २५ हजार रुपैयाँ सम्म सुबिधा पाउनेछ । कुल खर्चको २० प्रतिशत मात्रै श्रमिक आफैले तिर्नुपर्नेछ । बिरामी बिदाको १२ दिन बिरामी बिदा बापत पुरै पारिश्रमिक रोजगारदाताबाट पाउने, त्यो भन्दा बढी बिरामी बिदामा बस्नु पर्दा १३ हप्तासम्मका लागि आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम कोषबाट पाउने सुविधा छ ।

मातृत्व सुरक्षा योजना अन्तर्गत पछिल्लो १८ महिनामा १२ महिना योगदान गरेका गर्भवती महिला श्रमिकले गर्भ अवस्थाको नियमित परीक्षण, अस्पताल भर्ना तथा शल्यक्रिया र नवजात शिशुको उपचार बापतको औषधि खर्च, प्रसूति स्याहारका लागि प्रत्येक महिना न्यूनतम पारिश्रमिक बरावरको रकम, र सुत्केरीको श्रीमानले पनि एक महिनाको न्यूनतम पारिश्रमिक पाउनेछ ।

यस्तै प्रसूती बिदा अवधिको ९८ दिनमध्ये ६० दिनको रोजगारदाताले दिने र सो बाहेक ३८ दिनको लागि खाईपाई आएको पारिश्रमिकको ६० प्रतिशत रकम पनि पाउनेछ । दुर्घटना र अशक्तता सुरक्षा योजना अन्तर्गत कोषले तोकेको उपचार खर्च अस्पतालमै भुक्तानी गरिदिने व्यवस्था रहेको छ ।  काममा फर्कन नसकेको खण्डमा आधारभूत तलबको ६० प्रतिशतलाई शतप्रतिशत मानी असक्षमता प्रतिशतको आधारमा जीवनभर निवृत्तिभरण (पेन्सन) पाउने, र स्थायी रुपमा पूर्ण असक्षम भएमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम मासिक रुपमा जीवन भर निवृत्तिभरण पाउनेछ ।

आश्रित परिवारलाई श्रीमान वा श्रीमती वाँच्दासम्म अन्तिम आधारभूत तलबको साठी प्रतिशतले निवृत्तिभरण पाउनेछन । र अन्तिम संस्कारका लागि २५ हजार रुपैयाँ उपलब्ध हुनेछ ।

यस अघि, श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा  व्यवस्था गर्न बनेको ऐन, २०७४ साल साउन महिनाको २९ गते प्रमाणिकरण गरिएको थियो ।