काठमाडौ, २० साउन – कांग्रेस नेता तथा पूर्व सांसद कमल पंगेनीको निधन भएको छ ।
कांग्रेसको स्याङ्जा जिल्ला सभापति पंगेनीको जिल्लाको हेलु स्थित आफन्त तोयनाथ अर्यालको घरमा हृदयघातका कारण आइतबार बिहान निधन भएको हो ।
५४ वर्षका पंगेनी शनिबार पार्टीको कार्यक्रममा सहभागी भइ आफन्त अर्यालको घरमा बास बसेका थिए ।
बिहान करिब पाँच बजे कोठामा अचेत अवस्थामा फेला परेपछि डाक्टर बोलाइएको तर डाक्टरले मृत घोषित गरेको उनका आफन्तले बताए ।
उनका श्रीमती र तीन छोराछोरी छन् । पंगेनी दोस्रो संविधानसभाका सदस्य थिए तर योपल्टको निर्वाचनमा उनी पराजित भएका थिए ।