काठमाडौ, १४ जेठ— उपत्यकामा क्षमताभन्दा धेरै यात्रु बोक्ने साना माइक्रोबस र तीन पाङ्ग्रे सवारी साधनको जरिवाना रकम बढाइएको छ।
गृहमन्त्रालयले गत जेठ ४ गते दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न महानगरीय ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको थियो।
सोही निर्देशनअनुसार धेरै यात्रु बोकेका सवारी साधनलाई ट्राफिक प्रहरीले रु ५०० जरिवाना गर्दै आएकामा जेठ १२ गते शनिबारदेखि रु.एक हजार जरिवाना गर्न थालेको छ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले जेठ ४ गतेदेखि हालसम्म ६४९ माइक्रोबस तथा टेम्पोलाई कारबाही गरिएको बताए।
“उभ्याएर यात्रु बोक्ने १८ सिटभन्दा कम क्षमताका माइक्रोबस र टेम्पोलाई कारवाही गरेका हौँ”, उनले भने। महाशाखाले उपत्यकाका ५० भन्दा बढी मार्गका १५५ माइक्रोबस र ४९४ टेम्पोलाई कारवाही गरेको हो।
महाशाखाका प्रमुख पन्तले पहिले रु ५०० जरिवाना गर्दै आएकामा शनिबारदेखि यातायात व्यवस्था विभागले रु एक हजार लिने गरी महाशाखालाई अधिकार प्रत्यायोजन गरेको र सोहीअनुसार जरिवाना लिँदै आएको जानकारी दिए।
ठूला सवारी साधनको हकमा सो नियम अझैसम्म लागू भएको छैन। उपत्यका बाहिर चल्ने लामो दूरीका सवारी साधनले भने यात्रु उभ्याएर बोक्ने गरेका छैनन्।
रासस