‘कुनै युवती भेट्यो भने प्रेम गरिहालूँ जस्तो आजकल चाहिँ लाग्दैन’ – कुमार नगरकोटी

 

 

काठमाडौं, 

अहिलेसम्म कतिजनासँग प्रेम गुर्नभयो, सम्झनुहुन्छ ?

ठ्याक्कै भन्न सक्दिनँ । बढीमा सातजनासँग भयो होला कि ? कसैलाई मैले मन पराएँ, कसैले मलाई मन पराए । केही प्रसंग किताबमा पनि लेखिसकेको छु । तर, तपाईंले सोधेजस्तो प्रेम बिहेपछि छैन । श्रीमतीसँगै गर्छु ।

कोही राम्री युवती देख्दा अहिले पनि प्रेम प्रस्ताव राखौँ भन्ने लाग्दैन ?

म प्रेमिल छु जस्तो लाग्छ । तर, कुनै युवती भेट्यो भने प्रेम गरिहालूँ जस्तो आजकल चाहिँ लाग्दैन । ‘सेक्सुअल डिजायर’ पनि कम भइसकेको छ ।

प्रेमको अनुभूति उमेरले निर्धारण गर्छ ?

उमेरले पनि गर्छ । किशोरकालको प्रेम, युवावयको प्रेम जीवन्त हुन्छ । उमेरले प्रेमको स्वाद फेरिँदै जान्छ । मेरो कुरा गर्नुहुन्छ भने म किशोर हुँदा किशोर हुँ जस्तो कहिल्यै पनि लागेन । जोगीको संगत गरेँ । अनेक किताब पढेँ । अनि आई अलवेज फिलिङ लभ विथ वुमन, नट अ गर्ल ।

साइकोलोजिकल्ली नै म महिलातर्फ आकर्षित थिएँ । १६ वर्षे जोवनमाथि धेरै गीत लेखिएको छ । तर, मलाई किशोरी र युवती बच्चा लाग्थ्यो । म २१ वर्षको हुँदा ४० वर्षकी महिलासँग प्रेममा थिएँ । उनी विवाहित थिइन् । म सधैँ त्यस्तै प्रकारका महिलाबाट आकर्षित हुन्थेँ ।

अहिले सम्झँदा म ‘कम्प्लिट प्याकेज’को महिला खोज्दो रहेछु । महिला भनेपछि कोमल, प्रेमिल, अनुभव र मभन्दा बढी ज्ञान भएको खोज्दो रहेछु । त्यसैले ‘१६ वर्षे जोवन’तिर आकर्षित भइनँ । ४५ वर्षे जोवनमा बिन्दास थिएँ ।

तपाईंको गेटअप हेर्दा अहिले पनि युवा जोस र त्यही प्रकारको चरित्र होला भन्ने कल्पना आउँछ । तर, फरक हुनुहुँदो रहेछ त ?

मैले २१ वर्षको हुँदा निकास भन्ने कथा लेखेँ । त्यो पढ्नेहरूले चाहिँ कोही रिटायर्ड बुढोले लेखेको भन्ने ठानेछन् । पहिलादेखि नै म मानसिक रूपमा परिपक्व थिएँ । अनुभवको पनि छुट्टै महत्व छ । त्यसले मान्छेलाई करुणाशील, विवेकशील, ज्ञानी बनाउँछ । तर, मलाई भद्र, ज्ञानी मान्छे रुचिकर लाग्दैन । किनभने तपाईं नयाँ–नयाँ परीक्षण गर्नुस् । म एक्स्पेरिमेन्ट गर्न रुचाउने मान्छे । जिन्दगी त त्यहाँ छ ।कहाँ ज्ञानी, विनम्र भएर बस्ने ?

प्रेममा एक्स्पेरिमेन्ट गर्नुभयो । त्यसबारे धेरै लेख्नु पनि भएको छ । अहिले आएर पछुतो लाग्दैन ?

मलाई अतीत मनपर्छ । म अतीतलाई प्रेम गर्छु । मैले छाडेका गल्ली, घुम्ती, बाटाहरूप्रति मोह छ । तर, अतीत सम्झेर पछुतो मानेर बस्दिनँ । अतीत चाहिन्छ । दूरीबाट हेर्न रमाइलो हुन्छ । तर, यो समय जज गरेर बस्ने होइन । इन्जोय गर्ने हो ।

हामी नेपालीको मस्तिष्कमा जजमेन्ट गर्ने स्वभाव डाउनलोड गरेरै राखिएको छ । त्यो ठीक होइन । मेरो १६ वर्षको निर्णयमाथि अथवा २० वर्षको निर्णयमाथि अहिले आएर पछुतो मान्नुको अर्थ छैन ।

एउटा कमन प्रश्न सोध्छु । प्रेम र यौनको फरक के हो ?

तपाईंले यौन भनेर सीधै सम्भोग भन्न खोज्नुभएको हो । यी दुवै एकदमै सुन्दर चिज हुन् । ती प्याकेजमा आउँछन् । युवाकालको प्रेम र सम्भोग अथवा त्यसपछिको समयको प्रेम र सम्भोग । प्रेम र सम्भोग एक–अर्काका परिपूरक हुन् ।

तपाईं सम्भोग चाहिँ गर्नुहुन्छ तर प्रेम छैन भने त्यो अर्थहीन छ । त्योभन्दा राम्रो हस्तमैथुन हो । सम्भोगको अर्थ नै समभोग हो । प्रेम नभई समभोग हुँदैन । अब प्रेम छ तर सम्भोग छैन भने पनि त्यो खल्लो हुन्छ जस्तो लाग्छ मलाई ।

तपाईंले प्रेम र यौन सम्बन्ध राखेका पात्रबारे खुलेरै लेख्नुभएको छ, पछि उनीहरूसँग भेट भएको छ ?
मैले बढी लेखेको दुईजनाबारे हो, मिरा भट्टराई र निर्मला । उनीहरूको विषयमा लेख्दा धेरै टाढाको अतीत भइसकेको थियो । उनीहरू कहाँ छन् मलाई थाहा छैन ।

म लेखक भइसकेको उनीहरूलाई थाहा छ कि छैन, त्यो पनि जान्दिनँ । मैले उनीहरूका बारे लेखेको छु भन्ने थाहा पाए वा पाएनन् पनि थाहा छैन । ‘माधुरी दीक्षितको चिठी’मा निर्मला भन्ने युवतीबारे उल्लेख गरेको छु । धेरैपछि ऊ नारायणघाटमा छे भन्ने सुनेर खोज्दै पनि गएँ । अब त्यत्रो सहरमा कहाँ भेट्नु ? मेरो भेट भएको छैन ।

‘ऋतुको चिया पसल’की ऋतुसँग नि ?

ऊसँग त मैले बिहा नै गरेको हुँ । अनि डिभोर्स पनि । त्यो ऋतुको चिया पसल संस्मरणमै लेखेको छु । म त्यतिवेला त्यस्तै २०–२१ वर्षको थिएँ । ऊ मेरो समकालीन । मैले अघि नै भनेँ समकालीनतिर त मेरो मनै जाँदैन थियो । मलाई युवती होइन, महिला चाहिन्थ्यो । मलाई त ऊ बच्चा लाग्थ्यो । त्यतिवेला म अर्को महिला मीरासँग प्रेम गर्थेँ ।

ऋतुले मलाई ‘कस्तो मान्छे रैछ, अर्काकी स्वास्नीतिर लाग्ने’ भन्थी । त्यो ठाउँ छाडेको पाँच सात वर्षपछि उसले फोन गरी । त्यतिवेला मैले उसले प्रेम गर्दिरहिछ भन्ने थाहा पाएँ । भागौँ भनी । ‘भाग्न त किन भाग्ने, बरु तिम्रो आमासँग कुरा गर्छु,’ भनेँ । अनि बिहे ग-यौँ । एक महिनापछि केही फरक अनुभव हुन थाल्यो । अनि आ–आफ्नो बाटो लाग्यौँ ।

‘फुट नोट्स’मा तपाईंले आमा र बुबाको प्रेम कहानी उल्लेख गर्नुभएको छ । तपाईंको समयको प्रेम र बुबाआमाको समयको प्रेममा के फरक छ ?

त्यो प्रेमकहानी मलाई आमाले सुनाउनुभएको हो । मेरो आमा गोर्खाको गुरुङसेनी । बुबाको घर सिन्धुली । उहाँ नेवार । गोरखामा बुबाले प्रेम गरेर बिहे गर्नुभयो । अनि जहाँ–जहाँ सरुवा भएर जानुभयो आमालाई लिँदै जानुभयो । बहिनी डोल्पामा जन्मिई ।

मेरो भाइ चौरझहारी रुकुममा जन्मियो । म काठमाडौंमा जन्मिएँ । उहाँहरू ठाउँ–ठाउँमा गुँड बनाउँदै हिँड्नुभयो । म एसएलसी दिएर मात्र घर गएको हो । त्यसकारण मलाई फेमिली भन्ने स्ट्रक्चर अजिब लाग्छ । मैले अहिलेसम्म परिवारमाथि कथा लेखेको छैन ।

मेरो स्वभाव बिहे गरेर बस्ने खालको छैन । कुनै संस्थामा बाँधिने मान्छे होइन । जस्तो यो पार्टी, यो जात, यो समुदायमा बिलङ्स गर्छु भन्न मन लाग्दैन । आई बिलङ्स टु दिस प्लानेट ।

सावित्री भाउजूसँग कसरी बिहे भयो ?

मेरो बिहेको प्रसंग दोचामा पनि लेखिसकेको छु । हाम्रो प्रेम र मागी दुवै विवाह हो । उनलाई पहिलोपटक ट्वाइलेटमा देखेको हो । स्कुलको लेडिज ट्वाइलेटमा । त्यतिवेला म स्कुलमा काम गर्थेँ । मैले नै विवाहको कुरा अगाडि बढाएको हो ।

अनि बिहेपछि बाहिर सम्बन्ध बनाउने काम बन्द भयो ?

म ड्यामकेयर मान्छे । सावित्री नभएको भए म उहिल्यै मरिसक्थेँ । कुनै गल्लीमा वा फुटपाथमा मेरो लास भेटिन्थ्यो होला । रक्सी खाँदाखाँदै पनि मर्न सक्थेँ । अराजक न हुँ । मलाई जीवनको कुनै फ्रेम अस्वीकार्य थियो । म प्रेमिल चाहिँ हो, ‘फ्रेमिल’ चाहिँ होइन । उनी आएपछि मेरो जीवनशैली फेरियो । अहिले पुत्र र पत्नी छन् । सी फिल्स मी । मैले अघि पनि भनेँ बिहेपछि अन्य सम्बन्धमा छैन ।

अतीतबारे खुलेर लेख्नुहुन्छ । तपाईंको वैवाहिक जीवनमा समस्या ल्याउँदैन ?

ल्याउँदैन । मैले त काउलीबारीमा सेक्स गरेको कुरा पनि लेखेको छु । पहिलो सेक्स नै यौनकर्मीसँग भयो । ती प्रेम थिएनन् । ती अतीत ऊर्जा हुन्, अतीतलाई म माया गर्छु । यद्यपि मेरो अतीत पतीत हो । मलाई आदर्शवादी हुनुछैन । यो कुरा संसारलाई थाहा छ ।

तीभन्दा खतरनाक कुरा, जुन बाहिर ल्याउन सक्दिनँ, ती कुरा पनि सबै उनलाई भनिदिएको छु । सी नोज एभ्रिथिङ । म पतीत मान्छे । उनले पतीतलाई नै पति बनाएको हो । सो आई लभ माई वाइफ । तर, त्यस्तो सिरियस पनि छैन । कहिलेकाहीँ लाग्छ, कुनै दिन यत्तिकै हिँड्दा–हिँड्दै कतै गायब हुन्छ ।

घाटको नाउँमा पुस्तकै लेख्नुभयो । घाटमा डेटिङ जानुभएको छ ?

छैन । घाट डेटिङ जाने ठाउँ चाहिँ हो । मैले मिस्टिकामा पनि लेखेको छु, ‘चिहान त सम्भोगका लागि गजबको ठाउँ हो ।’ कहाँ–कहाँ सम्भोगका लागि उपयुक्त हुन्छ भन्ने खोजी गर्दा घाटको पनि प्रसंग आएको हो । तर, घाटमा म कसैलाई भेट्न मन पराउँदिन ।

एक्लै बस्न मन पराउँछु । मलाई घाटमा भेट्न चाहने पाठक छन् । मान्छेका दुईवटा इच्छा हुँदा रहेछन्, एउटा नगरकोटीलाई घाटमा भेट्ने, अर्को नगरकोटीसँग दारु पिउने ।

अहिले कुनै महिलाले घाटमा डेट जाने अफर गरे भने जानुहुन्छ ?

त्यो त मलाई आइरहेकै छ । सुन्दर युवतीले अहिले पनि घाटमा डेट जान आग्रह गर्छन् । म सीधै भन्छु,
‘आइ डन्ट लाइक टु मिट एनिबडी इन द घाट ।’

कस्ता महिला आकर्षक लाग्छन् ?

आकर्षक जो पनि हुन सक्छ । कोही एकदमै राम्री महिला छ भने पनि मलाई मन नपर्न सक्छ । त्यो त आफ्नो च्वाइसमा भर पर्छ । ऐश्वर्या राय एकदम राम्री छ । तर, मलाई मन पर्दैन । मेरो च्वाइस त्यो नहुन सक्छ । मेरो ट्यापे, मुन्द्रे पनि मित्र भए । कतिपय टोलका सुन्दर केटीहरू तिनै ट्यापे र मुन्द्रेलाई नै मन पराउँछन् । मलाई त गज्जब लाग्थ्यो । त्यो उनीहरूको च्वाइस हो ।

पहिलोपटक कुनै महिला हेर्दा कुन अंगले आकर्षण गर्छ ?

मलाई मनपर्ने अंग आँखा हो । आँखामा अनेक चिज हुन्छ । तपाईंको अन्तरनिहित चाहना कम्मरतिर भनोस् वा स्तन भनोस् भन्ने होला । तर, म आँखा हेर्छु । साहित्यमा वर्णन गर्दा तपाईं भन्नुहोला कि नागबेली चाल, सराहीजस्तो गर्धन । मेरा लागि ती सेकेन्डरी हुन् । आँखाको मादकता, लज्जा, नैराश्य, चञ्चल, मुग्धता खुब मनपर्छ । पुरुषको आँखा चाहिँ होइन है । पुरुषको आँखा मन पर्दैन ।

आफ्ना कृतिमा धेरै महिला पात्र प्रयोग गर्नुभयो । तपाईंलाई वेला–वेला याद आउने महिला पात्र चाहिँ को हो ?

खासमा म आफ्ना पात्र नै सम्झिन्नँ । समयक्रममा ती पात्र बिर्सिँदै जान्छु । मेरै किताब पनि मेरो दृष्टिमा हराउँदै जान्छ । अनि मैले सम्झनलायक पात्र सिर्जना गरेको छु भन्ने नै लाग्दैन । कतिपय लेखक आफ्ना पात्रप्रति इमोसनल्ली अट्याच हुन्छन् । किनभने ती पात्र जन्माउन सजिलो पक्कै छैन । म चाहिँ त्यसरी पात्रसँग अट्याच हुन्न । खासमा म मान्छे नै डिट्याचलाई मन पराउने मान्छे हो ।

तपाईंलाई याद आइरहने अरू लेखकका महिला पात्र चाहिँ छन् ?

शिरीषको फूलकी सकम्बरी मलाई जीवन्त लाग्छ । अहिले पनि मलाई ऊ यतै कतै वरिपरि छ कि जस्तो फिल हुन्छ । सकम्बरीलाई मैले आफ्नै लेखमा पनि धेरै खेलाएँ । मैले त्यस्तो प्रकारको चरित्र अहिलेसम्म सिर्जना गर्न सकेकै छैन । मबाट सायद त्यस्तो पात्र जन्मँदैन । पाठकले आसै नगरे हुन्छ । किनभने गहन अट्याचमेन्ट नै नभएपछि जन्मने कुरै आउँदैन ।

मुडुलो टाउको बनाएकी, विन्दास पात्र हो सकमबरी । तपाईंको गेटअपसँग पनि मिल्छ । त्यहीकारण मन पराउनुभएको हो ?

मेरो चरित्र निर्माण गर्नुमा सकम्बरीको पनि हात छ क्या । तपाईंलाई अनौठो लाग्ला, तर यो तथ्य हो । म त किताबहरूको संसारमा हुर्किएको मान्छे । किताबका पात्रबाटै मेरा विभिन्न चरित्र बनेका हुन् । म पहिला खेलाडी हुँ । किताबको संसारमा पसेपछि खेल बिर्सिएँ, क्लासिक गायक हुने सपना बिर्सिएँ ।

अनि किताबका पात्रमा हराएँ । मैले किन युवती होइन, महिला मन पराएँ भन्दा म युवाकालमा नै टोल्सटोयको अन्ना कारेनिनालाई मन पराउँथेँ । अब अन्ना कारेनिनासँग प्रेम भएको मान्छेको १६ वर्षकी केटीसँग प्रेम हुनै सक्दैन ।

तपाईं किन ट्राजिक लभ मन पराउनुहुन्छ ?

मलाई चलनचल्तीका कुरामा रुचि नै छैन । अनि मैले मन पराएका पात्रले आत्महत्या गरेका छन् । जस्तो अन्ना कारेनिना अथवा सकम्बरी । कुनैवेला भर्जिनिया उल्फलाई खुब मन पराउँथेँ ।

तर, मैले मन पराएको प्रेममा मनोटोनस छैन, झल्याकझुलुक खुसीको झिल्का आउँछ । दुःख पनि छ । जिन्दगीको अनेक एक्स्पेरिमेन्ट छ । त्यो लिपिस्टिकवाला तडकभडक युवती आयो भने ‘हैट को आयो यस्तो ?’ जस्तो लाग्छ । पूरै रोबोटिक तरिका लाग्छ ।

अन्त्यमा प्रेमको कुनै परिभाषा छ ?

प्रेमको त कुनै परिभाषा नै हुँदैन । यदि तपाईं जीवन्त लभर हो भने निस्फ्रिकी प्रेम गर्नुहुन्छ । यदि तपाईं मुर्दा लभर हो भने परिभाषाको बन्धन खोज्न थाल्नुहुन्छ । मलाई लाग्छ, तपाईं जीवन्त लभर बन्नुपर्छ । परिभाषातिर लाग्नुभयो भने तपाईं कहिल्यै प्रेममा पर्नुहुन्न । यो परिभाषा भन्ने शब्द नै मलाई मन पर्दैन ।

साभार नयाँ प्रत्रिका