ओली नेतृत्वको सरकारका सय दिनको कांग्रेसको टिप्पणी– ‘सामान्य गति दर्जन विसंगति’

काठमाडौं, १२ जेठ – केपी ओली नेतृत्वको सरकारका सय दिनको प्रमुख प्रतिपक्षी कांग्रेसले १२ कमजोरी औँल्याएको छ । ।  प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको सयदिने समीक्षा भिडियोमार्फत सार्वजनिक गरेका हुन् । उनले सरकारको सय दिनलाई ‘सामान्य गति दर्जन विसंगति’को संज्ञा दिएका छन ।

जुुन यसप्रकार छन
१. सांसद पदको शपथ नगरी प्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ गर्न मिल्थ्यो ? यो नैतिक र राजनीतिक प्रश्न उठाउन त म चाहन्नँ, तर शपथग्रहण गर्दा देश र जनता वा भगवान् कसैको नाममा पनि गर्न नपर्ने ? विसंगति यहीँबाट सुरु भयो ।

२. नेपालको संविधानको धारा ८६ उपधारा (२) ख बमोजिम तत्कालीन सरकारले राष्ट्रिय सभामा मनोनयनका लागि गरेको सिफारिसलाई अनधिकृत रूपमा राष्ट्रपतिबाट भएको अस्वीकारका पछाडि सरकारको मनोवैज्ञानिक दबाब र प्रेरणाले काम गरेको छ ।

३. ‘अति शक्तिले अति भ्रष्ट बनाउँछ’ भन्ने मान्यता छ । यसलाई स्मृतिमा नराख्नु यो सरकारको तेस्रो विसंगतितर्फको यात्रा हो । एकातर्फ संघीयतमा मुलुक जाने, शक्तिको विन्यास मुलुकले लिने अनि अर्कोतर्फ प्रधानमन्त्री कार्यालयले राजस्व अनुसन्धान, सम्पत्तिको शुद्धीकरणलगायत निकायलाई गाभ्नेतर्फ लाग्नु अर्को विसंगतिपूर्ण कदम हो ।

४. नेपाली कांग्रेसको पहलमा संविधान संशोधनको विषय अगाडि आउँदै गर्दा यो राष्ट्रघात हो भनेर करार गर्ने पार्टीकै नेतृत्वले सरकारको नेतृत्व गर्दै गर्दा संविधान संशोधनको प्रस्ताव स्वीकार ग¥यो, हामीले स्वागत ग¥र्यौँ । संविधान संशोधनको प्रस्ताव ल्याउने भन्नुभयो, तर नल्याउने, अल्मल्याउने काम भयो । यसलाई सत्ताको बार्गे्निङ चिप्सको रूपमा प्रयोग गर्नुभयो ।

५. पाँचौँ विसंगति श्वेतपत्र हो । नयाँ सरकार गठन भइसकेपछि मुलुकको अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्दा नकारात्मक सूचकलाई मात्रै प्रस्तुत गरियो । मुलुकको अर्थतन्त्र धराशयी छ, ढुकुटी रित्तो छ भन्ने ढंगले प्रस्तुत गरियो । जब कि मुलुकको अर्थतन्त्र धराशयी थिएन । यसको पुष्टि सरकारको नीति तथा कार्यक्रमले गरेको छ । दोहोरो अंकको आर्थिक वृद्धि कुन अर्थतन्त्रको जगमा भएको हो ? ढुकुटी रित्तो थिएन, तर निराशाजनक चित्र प्रस्तुत गरियो ।

६. कुनै मुलुकको सर्वोच्च न्यायालयलाई नेतृत्वविहीन राख्न मिल्छ ? सय दिन गुज्रिँदा पनि सरकारले प्रधानन्यायाधीशको नियुक्तिको टुंगो लगाउन नसक्नु सरकारले न्यायालयलाई गरेको अन्याय हो ।

७. कर्णाली प्रदेशबाहेक अरू प्रदेशको नामकरण अझै हुन सकेको छैन । प्रदेशका मुख्यमन्त्रीले ‘आसन पायौँ शासन पाएनौँ’ भनिरहेका छन् । केन्द्रसँग भीख माग्नुपर्ने, प्रदेशलाई सशक्तीकरण गर्न कार्यक्रम नल्याउने, पर्याप्त बजेटको तर्जुमा गर्न नसक्नु अर्को विसंगति हो ।

८. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुभयो । अतिथिलाई सत्कार र सम्मान ग¥यौँ, यो अलग पाटो छ । तर, उहाँ आउँदा जुन चित्र, चरित्र जसरी प्रस्तुत भयो, राष्ट्रवादका सन्दर्भमा हिजो उग्र रूपमा व्यक्त गरिएका सबै अभिमतलाई खण्डित गरेको छ । चुनावमा जानुअघि उग्र हुने, तर सरकारमा पुगेपछि त्यसलाई विसर्जित गर्ने ?

९. कर्मचारीको शासन स्थायी सरकार मानिन्छ । मनोबल बढाउनुपर्नेमा सरकारबाट उनीहरूको मनोबल उठाउनेभन्दा गिराउने गरी भूमिका गरेको छ ।

१०. केही समयअघि प्रधानमन्त्रीले भन्नुभयो, कांग्रेस प्रतिपक्षी दल होइन । यो त पहिले सबै पञ्च नेपाली, सबै नेपाली पञ्च भनेको जस्तो भयो । यस्तै मानसिकता प्रधानमन्त्रीमा देखिन्छ । प्रधानमन्त्रलाई सबै नेपाली कम्युनिस्ट, सबै कम्युनिस्ट नेपाली भन्ने लाग्यो होला । संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षी दल रहन्छ ।

११. चुनावको मैदानमा जाँदै गर्दा उहाँहरूले भन्नुभएको थियो, हाम्रो सरकार बनेपछि अत्यावश्यक वस्तुको मूल्य घटाउँछौँ वा नियन्त्रण गर्छौँ । तर, सरकारको व्यक्तित्वले सगरमाथाको उकालो लियो कि लिएन थाहा छैन । तर, आज बजारमा अति आवश्यक वस्तुको मूल्यले ‘घनघस्याको उकालो’ काट्न लागेको अवस्था छ ।

१२. नीति तथा कार्यक्रम सार्वजनिक गरियो । यसमा नीति छ, राम्रो छ । तर, कार्यक्रम शून्य छ । नीतिमा कसरी पुग्ने भनिएको छैन । नीति तथा कार्यक्रम पाँच वर्षका लागि भनिएको छ, तर एक वर्षको कार्यक्रम नै बिर्सिएको छ । यो विसंगति हो । आजको नया प्रत्रिकाका छापिएको छ ।