हामी नेपाललाई १० वर्ष भित्र मान्छे र प्रकृतिको संयुक्त प्रयासबाट स्वर्ग बनाउँछौं : प्रधानमन्त्री ओली

जेठ ६,काठमाडौँ – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताले विकास र समृद्धिका लागि सुदृढ अवस्था सिर्जना गरेको बताएका छन् । नेकपाको गठनपछि पहिलो बैठक बसेको पार्टीका संघीय संसद्का सदस्यको बैठकलाई अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले आपसमा कसरी मिल्ने भनेर विश्वलाई सन्देश दिने प्रकारले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता भएकाले अब यसलाई विधि, विकास र समृद्धिका लागि उपयोग गर्न आग्रह गरे ।

उनले भने, “हामी नेपाललाई आगामी १० वर्ष भित्र मान्छे र प्रकृतिको संयुक्त प्रयासबाट बनेको स्वर्ग भएको देखाउन चाहान्छौँ, विदेशी पर्यटक आएर नेपालको प्रशंसा गरेर फर्केर जाने अवस्था आउनेछ ।”

अध्यक्ष ओलीले जनमतबाट मुलुकको ठूलो दल बनेको कम्युनिष्ट पार्टी भएकाले जनताको चाहना बमोजिम युगलाई हाँक्न सबै सांसदले चनाखो भएर लाग्नु पर्ने बताए । उनले प्रधानमन्त्री, मन्त्री र सरकारका काम कारबाही ठिक ढंगले भए, नभएको बारे अवलोकन गर्न सांसदहरुलाई आग्रह गर्दै भने, “हामी नातावाद, कृपावाद र भेदभावका लागि होइन देश बनाउने संकल्प लिएर आएको हो । यसमा दायाँबायाँ गर्ने छुट छैन । संसद सरकार फेर्ने देखि कानून बनाउने सम्मको थलो भएकाले यसमा चनाखो रहनु होला।”
रासस